२६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले राजधानीको व्यस्त ठाउँमा रहेका तीनवटा आंगिक क्याम्पसलाई विश्वविद्यालय हाता कीर्तिपुरमा सार्ने भएको छ । वैशाख १२ गते भएको भूकम्पले पूर्णरुपमा क्षति भएका लैनचौरको अस्कल, भोटाहिटीको ललितकला र जमलको जनप्रशासन क्याम्पस सार्न लागिएको हो । त्रिवि सामान्य प्रशासन महाशाखा प्रमुख भोलाप्रसाद ढकालका अनुसार यी क्याम्पस भएका स्थानमा व्यापारिक कम्प्लेक्स बनाइनेछ । भूकम्पले मूल सडकसँगै रहेको अस्कल क्याम्पसको भवनहरु जीर्ण बनेका छन् । भूकम्पीय दृष्टिले पुन:निर्माण गर्न ठाउँ साँघुरो र सहरको प्रमुख भागमा रहेकाले अन्यत्र सार्न लागिएको पनि ढकालले बताए । ललितकला क्याम्पसको भवन पूर्णरुप काम नलाग्ने भएपछि स्नातक तहका विद्यार्थीलाई तत्कालका निम्ति कीर्तिपुरस्थित त्रिवि केन्द्रीय कार्यालय हाताको टहरामा सारिएको छ । त्यसैगरी जनप्रशासन क्याम्पस बल्खुमा सारिएको छ । ‘इतिहास बोकेको अस्कल क्याम्पसलाई पनि सार्ने तयारीमा छौं,’ प्रमुख ढकालले भने, ‘त्यसनिम्ति कीर्तिपुर परिसरमै उपयुक्त हुने ठम्याइ छ ।’त्रिविको देशभरिमा ६० आंगिक क्याम्पसमध्ये दुई दर्जनजति राजधानीभित्र छन् । भूकम्पले त्रिवि केन्द्रीय कार्यालयलगायतका निकायहरुको पुन:निर्माणका निम्ति ८ अर्ब ४४ करोड रुपैयाँ लागत इस्टिमेट गरिएको जनाइएको छ ।