सोल ,२४ असार ।दक्षिण कोरियामा कार्यरत नेपाली कामदारहरुले २०१६ देखि न्यूनतम तलब १ लाख १५ हजार रुपैयाँ पाउने भएका छन् । यहाँको ज्याला निर्धारण समितिले न्यूनतम पारिश्रमिकमा ८.१ प्रतिशतले बृद्धि गर्ने निर्णय गरेपछि साना तथा मझौल उद्योगहरुमा काम गर्दै आएका नेपाली कामदारहरुले न्यूनतम पारिश्रमिक १ लाख १५ हजार रुपैयाँ अर्थात १२ लाख ६० हजार २ सय ७० वन पाउने भएका हुन् ।

समितिको कार्यलय सेजङ सी थेजनमा बिहिबार बिहान १ बजे भएको मतदानमा बहुमतले  २०१६ को जनवरीबाट लागु हुने गरि ८.१ प्रतिशतले बृद्धि गर्ने पक्षमा मत दिएपछि समितिका अध्यक्ष पार्क जोन सङ घोषणा गरेका थिए । नयाँ तलवमानअनुसार कोरियाका मजदूरहरुले प्रतिघण्टा ६ हजार ३० वन र प्रति महिना न्यूनतम १२ लाख ६० हजार २ सय ७० वन (१ डलर बराबर १०१.६९ रुपैयाँ , १ हजार वन ) पाउने भएका हुन् । हाल यहाँका मजदूरहरुले प्रतिघण्टा ५ हजार ५ सय ८० वन पाउँदै आएका छन् । यो तलबबृद्धि २००९  यताकै ठूलो अंक हो ।

तलबनिर्धारण गर्न मंगलबार साँझबाट शुरु भएको बैठक बुधबार बिहान साढे पाँच बजेसम्म सरकारी अधिकारी,मजदूर प्रतिनीधि र रोजगारदाताबीच ११ पटकसम्म वार्ता भएपनि समझदारी हुन सकेको थिएन । १२ औं वार्ताले बिहीबार बिहान १ बजे  मतदान गर्ने निर्णय गरेको थियो ।

२७ सदस्यीय ज्याला निर्धारण समितिमा मजदूर प्रतिनिधि ९, सकरकारी अधिकारी र रोजगारदाताका तर्फबाट ९ जनाप्रतिनिधि रहने व्यवस्था रहेको छ । तीमध्ये बिहिबार भएको मतदानमा मजदूर प्रतिनिधि ९ जना र कम्पनी व्यवस्थापनको तर्फबाट २ जनाले मतदान बाहिस्कार गरेका थिए भने १६ जनाले ८.१ प्रतिशतको पक्षमा मतदान गरेकाथिए ।

कोरियन मजदूर महासंघ (केसीटीयू), प्रवासी मजदूर यूनियन (एमटीयू) लगायतका मजदूर संगठनहरुले ओईसीडीका मुख्य सदस्यहरु मध्ये मजदुरको तलब कोरियामा सबैभन्दा कम भएको, महंगी बृद्धि र प्रवासी, अस्थायी तथा महिला मजुदूरको  जीवनस्तर उकास्न ७९ प्रतिशत (प्रतिघन्टा १० हजार वन)  बृद्धि गनुपर्ने माग गर्दै आएका छन् ।

कोरियामा २००३ देखि प्रत्येक बर्ष मजदूरहरुको तलव बृद्धि हुँदै आएको छ । २०१६ का लागि निर्धारण गरिएको ८.१ प्रतिशत गत वर्षभन्दा १ प्रतिशतले बढी हो । कोरियामा २००९ मा ६.१ , २०१० मा २.७५ ,२०११ मा ५.१, २०१२ मा ६ , २०१३ मा ६.१ र २०१४मा७.१ प्रतिशत बृद्धि हुँदै आएको छ । कोरियाली मजदूर इतिहासमा सबैभन्दा धेरै २००४ मा १३.१ प्रतिशततलव बृद्धि भएको थियो ।