काठमाडौं : सरकारले संसद्को बुधबारको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। राष्ट्रपति डा. रामवरण यादवले सरकारको नीति तथा कार्यक्रम संसद्को बैठकमा वाचन गरेका हुन्।
सरकारले निजी क्षेत्र आकर्षित गरी पूर्वाधार, कृषि र ऊर्जामा तथा सार्वजनिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगानी प्राथमिकतासहितको नीति तथा कार्यक्रम पेस गरेको छ।
नीति तथा कार्यक्रममा आन्तरिक तथा बाह्य निजी लगानी आकषित गरी पूर्वाधारमा अधिकतमा खर्च गर्न प्राथमिकता दिइएको छ। पुनर्निर्माण तथा पुनर्स्थापनाका विशेष नीतिसहितका कार्यक्रमले मुख्य प्राथमिकता पाउनेछन्। पुनर्निर्माण, लगानी तथा आर्थिक वृद्धिका कार्यक्रम, तराईमा विशेष कार्यक्रम, मानव विकास सूचकांकलाई माथि लैजाने नीतिमा जोड दिइएको छ।
नीतिमा ऐनकानुनमा परिमार्जन गरी आर्थिक सुधारलाई प्राथमिकता दिइएको छ।सरकारको नीति तथा कार्यक्रममा निजगढको दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल र पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण र  काठमाडौं-तराई द्रुत मार्ग निर्माणलाई जोड दिइएको छ।
सार्वजनिक खर्चको प्रभावकारिता बढाउन बाधक भएका आवश्यक ऐननियम परिमार्जन गर्ने, अनावश्यक खर्च कटौती, सरकार र निजी क्षेत्रको सहकार्य प्राथमिकतामा हुनेछन्।
सार्वजनिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने, आन्तरिक ऋण लिँदा निजी लगानीमा असर नपर्ने विधि र प्रक्रिया सरकारले अपनाउने भएको छ।

थप पढ्नुस्
यस्तो छ सरकारको नीति तथा कार्यक्रम