२३ असार, काठमाडौ । सरकारी निर्णयको विरोध गर्दै मुलुकभरका मेनपावर कम्पनी अनिश्चितकालका लागि बन्द भएका छन्।

श्रम तथा रोजगार मन्त्रालयले केही मुलुकमा लागू गरेको निःशुल्क टिकट र भिसाको व्यवस्थाको विरोध गरिरहेका व्यवसायीले भिएनएन र बायोमेटिक प्रणाली खारेज नगरेसम्म सबै मेनपावरहरू अनिश्चितकालका लागि बन्द गरिएको नवनियसक्त मेनपावर व्यवसायी संघका अध्यक्ष बिमल ढकालले बताए।

सरकारले हचुवाका भरका ‘एकतर्फी र बिनातयारी’ निर्णय लागू गर्दा नेपाल आउने कामदारको माग अन्य मुलुकतर्फ जान थालिसकेको भन्दै यसलाई उच्चस्तरीय छानबिन आयोग बनाएर छानबिन गर्न व्यवसायीहरूले माग गरेका छन्।

मुलुकमा सञ्चालनमा आएका करिब ७ सय मेनपावर कम्पनी बन्द हुँदा हजारौ व्यक्ति प्रत्यक्ष प्रभावमा परेका छन्।

अध्यक्ष विमल ढकालले श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले संसदीय समिति र प्रधानमन्त्रीको निर्देशनविपरीत कदम चालेकोले आन्दोलन गर्नुपरेको दाबी गरे। उनले भने, ‘आजदेखि कुनै पनि मेनपावर कम्पनीबाट विदेश कामदार पठाउँदैनौं,’ ‘मन्त्रीले व्यवसायीलाई निःशुल्क टिकट र भिसाविरोधी बनाएर प्रचार गरिरहे पनि आफूहरु शून्य लागतकै पक्षमा रहेको उनले दाबी गरे। ‘अचानक निर्णय गर्दा परिणाम नराम्रो आउने र नेपालको अवसर अरुले लिने भएकाले तत्काल हुँदैन मात्र भनेका हौं,’ उनले भने। एउटा उच्च स्तरीय कार्यदल बनाएर त्यसको रिपोर्टको आधारमा काम गर्नुपर्ने उनले बताए।