काठमाडौं असार २१ । विदेशमा उच्च शिक्षा पढ्न जाने विद्यार्थीसँग एजुकेशन कन्सेलटेन्सीहरूले आफू खुसी शूल्क असुल गरिरहेका छन्।

विशेष गरि जापान जाने चाहने विद्यार्थीहरूसँग एजुकेशन कन्सेलटेन्सीहूरुले न्युनतम् ८ लाखदेखि १४ लाखसम्म शूल्क असुलिरहेका छन्।

कन्सलटेन्सीहरूले विद्यार्थीसँग प्रक्रिया सुरु गरेदेखि नउडेसम्म विबिध प्रक्रियाबाट शूल्क लिईरहेका छन्।

उच्च शिक्षालाई विदेश जान खोज्ने विद्यार्थीसँग प्रक्रिया सुरु, भाषा कक्षा, प्रमाण पत्र प्रमाणिकरण, कुरियर, सेवा शूल्कजस्ता कामलाई भनि संस्थापिच्छे फरक-फरक शूल्क लिने गरेका छन्।

यसरी आफूखुसी शूल्क लिए पनि अनुगम गर्ने शैक्षिक परामर्श केन्द्रमा उनीहरूले  केन्द्रले तोकेको शूल्क लिएको कागज पेश गरिरहेको शैक्षिक परामर्श शाखा केन्द्रका प्रमुख नन्दलाल पौडेलले सतोपाटीलाई बताए।

केन्द्रले संस्थाले सेवा शूल्कवापत लिन पाउने शूल्कलाई तीन ‘क्याटोगोरी’मा विभाजन गरेर फरक-फरक शूल्क निर्धारण गरेको छ।

संस्थालाई शैक्षिक परामर्श, तयारी पूर्वकक्षालाई र भाषा प्रशिक्षणलाई भनी बढीमा प्रत्येक विषय वापत १५ हजार रुपैंयाँका दरले ४५ हजार रूपैंयासम्म मात्र लिन पाउने केन्द्रले तोकेको पौडेलले बताए। तर, सेतोपाटीले राजधानीका विभिन्न शैक्षिक संस्थाहरूमा गएर बुझ्दा फरक-फरक अर्थात कम्तिमा ७० हजार देखि १ लाख रुपैंयाँसम्म असूल गरिरहेको पाइयो।

जापानमा पढ्न जाने विद्यार्थीले सिधै जापान गएर विश्वविद्यालयमा भर्ना हुन पाउदैनन्। विद्यार्थीले जापान गएर कम्तिमा १ वर्षदेखि २ वर्षसम्म जापनिज् भाषा अध्ययन गर्नुपर्छ।

संस्थाहरूले विद्यार्थीलाई आफ्नो संस्थामा आउनेलाई प्रक्रिया सुरू नहुँदै सक्कली प्रमाणपत्र लिइसकेका हुन्छन्। तर, संस्थाहरूले विद्यार्थीसँग यसरी सक्कली प्रमाण पत्र लिनु अवैधानिक रहेको शैक्षिक परामर्श शाखाका पौडेलले भने।

‘विद्यार्थीहरू कन्सल्टेन्सीहरूमा आउना साथ अरूमा जान्छन् भनेर विद्यार्थीको सक्कली प्रमाणपत्र लिन्छन्, विचैमा छोडेर पूरा पैसा दिँदैनन् भन्ने ठानेर सक्कली प्रमाणपत्र राखेका हुन्छन्, त्यो कानुन विपरित हो,’ उनले भने।

नेपालमा झन्डै ५ सयको हाराहारीमा यस्ता एजुकेशन कन्सेलटेन्सीले कम्पनी ऐन अर्न्तगत कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएर सञ्चालनमा छन्। तर, पछिलो समयमा यस्ता कम्पनीहरुले अनिवार्य शैक्षिक परामर्श केन्द्रको मातहतमा रहि सेवा सञ्चालको स्वीकृति लिएर मात्र चलाउन पाउने व्यवस्था गरिहेको पौडेलले बताए।

अहिलेसम्म ४१ वटा शैक्षिक संस्थाले शैक्षिक परामर्श केन्द्रमा सेवा सञ्चालनको अनुमति लिएका छन्। ४ सय ५ वटा संस्थामा सेवा सञ्चालको स्वीकृतको लागि अनुगमन भइरहेको पौडेलले बताए।

३१ वटामा पनि तत्काल अनुगमनको प्रक्रियालाई अगाडि बढाउने उनले भने।

सेवा सञ्चालमा दर्ता भईसकेपछि संस्थाले प्रत्येक वर्ष संस्था नविकरण गर्नुपर्ने केन्द्रले जनाएको छ।

यस्तो ठगीबाट जोगिन सबैभन्दा त पहिले विद्यार्थी आफूपनि सचेत हुनुपर्नेछ। पैसाको कारोवार पनि बैंकबाट आफैं गर्नुपर्ने पौडेलले बताए।

साथै उनले विद्यार्थीहरूले संस्थाले दिएको दुःखबारे केन्द्रमा गुनासो पोखिरहेका बताए। उनले भने, ‘हामी तत्कालै उनीहरूको गुनासा उपर काम अगाडि बढाउनेछौं।

सेतोपाटीले केहि एजुकेशन कन्सेलटेन्सीहरूमा गरेको अनुगमनमा भने यस्तो देखिएको छ।

बागबजारस्थित लिङकेज शैक्षिक केन्द्रले विद्यार्थीबाट भिसा आएपछि सेवा शूल्क भनी एकमुष्ट ७० हजार रुपैंयाँ लिने गरेको छ।

लिङकेजले लिईरहेको शूल्क शैक्षिक परामर्श केन्द्रले तोकेको भन्दा २५ हजार रूपैंयाँ हो। साथै  यो संस्थाले पनि विद्यार्थीको सक्कली प्रमाण पत्र पहिले नै लिने गरेको छ।

त्यस्तै बागबजारकै नेपाल डेला इन्टेल कन्सेलटेन्सी प्रालिले विद्यार्थीसँग भाषा कक्षा शूल्क भनी ५ हजार रूपैंयाँ र पुस्तक वापत १ हजार रुपैंयाँ , प्रमाणपत्र ट्रान्सलेट, बैंकको कागज पत्र, र कुरियर सेवालाई भनी १५ हजार रुपैंयाँ र भिसा आएपछि सेवा शूल्क पनि ७० हजार रुपैंयाँ असुल गरिरहेको छ।

सम्पूर्ण यो शूल्क केन्द्रले तोकेको भन्दा ४६ हजार रुपैंयाले बढी हो। यो संस्थाले पनि विद्यार्थीसँग सक्कली प्रमाण पत्र पहिलेनै लिने गरेको छ।

साथै बागबजारमै रहेको अर्को डाईसुकी ईन्टरनेशनल प्रालिले पनि सेवा केन्द्रले तोकेको भन्दा ५० हजार रुपैंया असुल गरिरहेको छ। यो संस्थाले विद्यार्थीसँग भाषा प्रशिक्षणको लागि १० हजार रुपैंयाँ , प्रक्रिया सुरूको लागि भनी १० हजार र भिसा पछि ५० हजार रुपैंयाँ भनी ९५ हजार रूपैंयाँ असुल गरिरहेको छ।

यि त केही प्रतिनिधि उदाहरण मात्र हुन्। विद्यार्थीले यहाँ सञ्चालन भईरहेको अधिकांश संस्थाबाट सेवा केन्द्रले तोकेको शूल्कमा जान पाउँदैनन्। संस्था विश्वविद्यालयलाई विद्यार्थी पठाएपछि पनि त्यहाँ(जापानमा) रहेका संस्थाले भाषा प्रशिक्षण गराउँदा पनि कमिसन भने यता संस्थालाई दिइरहेको हुन्छ।

सेतोपाटीले फेरि यिनै संस्थाहरूलाई तपाईँहरूले सेवाकेन्द्रले तोकेको भन्दा बढी शूल्क र विद्यार्थीको सक्कली प्रमाण पत्र लिनुभएको छ भनी कुरा गर्दा नेपाल डेला इन्टेल कन्सेलटेन्सी प्रालिका रोशन श्रेष्ठले भने ‘हामीले विद्यार्थीसँग प्रमाण पत्र उनीहरुको प्रमाणपत्रमा हुने सानातिना गल्ती सच्चाउनमा मागेको हो।’ शूल्कको विषयमा भने उनी बोल्न चाहेनन्।

त्यस्तै बागबजारस्थित लिङ्केज शैक्षिक केन्द्रका प्रमोद ढुङ्गानाले यो विषयमा कुरा गर्न चाहेनन्।