पाँचथर, १९ असार । पाँचथर जिल्ला एक हप्तादेखि अन्धकारमय बनेका छन् । बर्सातको समयमा आएको हावाहुरी तथा पहिरोको कारण इलामको विभिन्न स्थानमा विद्युत्को पोल ढलेपछि जिल्लाका एक दर्जनभन्दा बढी गाविसका स्थानीयवासी अन्धकारमय बनेका हुन् ।

जिल्लाको सदरमुकाम फिदिम, नाँगिन, यासोक, रानीगाउँ, नाँगी, फाक्तेप, चिलिङदेनलगायत गाविसका स्थानीयवासी अन्धकारमय बनेका हुन् । विद्युत् आपूर्ति सञ्चालन नहुँदा विद्युत्बाट चल्ने सम्पूर्ण विद्युतीय उपकरण, कम्प्युटर इन्स्टिच्युट र स्थानीय सञ्चारमाध्यमसमेत बन्द भएका छन् ।

इमेल, इन्टरनेट र फोटोकपी यन्त्र नचल्दा गाउँबाट आएका मानिस नागरिकता तथा राहदानीलगायत निकाल्न चाहिने सिफारिसको फोटोकपीसमेत गर्न नपाउँदा सास्ती खेपिरहेछन् ।

मर्मत कार्य भइरहेको र विद्युत् सञ्चालन हुन अझै केही दिन लाग्ने विद्युत् प्राधिकरण पाँचथरका प्राविधिक उमेश यादवले जानकारी दिए । बर्सातको समयमा प्रायः जिल्लामा यसरी नै विद्युत् आपूर्ति नहुँदा उपभोक्ताले हैरानी खेप्दै आएका छन् । रासस