रुपन्देही, असार १८ । हतियार देखाई धनमाल लुटेर फरार रहेका चार लुटेराहरुलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बुटवल उपमहानगरपालिका–१० बस्ने विश्वास श्रेष्ठ, विकाश न्यौपाने, मैनिहवा–१ बस्ने प्रभु दयाल हरिजन र बर्दीया खैरापुर–९ घर भई बुटवल नगरपालिका–१३ बस्ने निरु गुरुङ रहेका छन् ।

उनीहरुबाट प्रहरीले १÷१ राउण्ड गोली लोड भएको पेस्तोल २ थान, कटुवा पेस्तोल १ थान, खाली कटुवा पेस्तोल १ थान र घटनामा प्रयोग भएको मोटरसाइकल २ थान समेत बरामद गरेको छ ।

असार १३ गते बुटवल उपमहानगरपालिका–१४ ढवाहमा रहेको सिद्धार्थ हाडवर्यरबाट पेस्तोल देखाई धनमाल डाका चोरी गरी फरार रहेका उनीहरुलाई विहीबार प्रहरीले पक्राउ गरेको हो ।

घटनामा प्रयोग भएको हतियार बुटवल नगरपालिका–१० स्थित न्यु कलश होटलमा काम गर्ने विकास न्यौपानेलाई राख्न दिएको खुल्न आएपछि खटिएको प्रहरीले होटलको किचनमा लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार बरामद गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।