धुलिखेल असार १७ । नेपाली सेनाले भूकम्पबाट पूर्ण रूपमा घर क्षति भएका बहालवाला र भूतपूर्व सैनिकलाई घर निर्माण गर्न न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ।
प्रधानसेनापति गौरब शम्शेर राणाले भूतपूर्व सैनिक तथा उनीहरूका परिवारलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।
भूतपूर्व सैनिक सम्मेलन तथा भेटघाट कार्यक्रम अन्र्तगत काभ्रेको धुलिखेलस्थित खड््गदल गणमा आयोजित कार्यक्रममा प्रधानसेनापति राणाले भूकम्पका कारण थुप्रै भूतपूर्व र बहालवाला नेपाली सेनाको घरबाट नष्ट भएको बताए।
उनले त्यस्ता परिवारको घर निर्माणमा सहयोग गर्न सेनाले वार्षिक चार दशमलव पाँच प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने निर्णय गरेको जानकारी गराए।
राणाले भूकम्पको समयमा नेपाली सेना रातदिन जनताको सेवामा समर्पित भएको भन्दै उनीहरूको प्रशंसा गरे।
प्रधानसेनापति राणाले नेपाली सेनाले भूतपूर्व सैनिक तथा एकल महिलाहरूको आर्थिक जीवनस्तर सुधारका लागि लघुवित्त कार्यक्रम अघि सारेको बताए।
विसं २०३२ सालमा एक करोड २४ लाख एक हजारबाट स्थापना गरिएको नेपाली सेना कल्याणकारी कोषमा ३१ अर्ब तीन करोड रुपैयाँ मैजुदा र दुई अर्ब ८५ करोड लगानी गरी वैशाख मसान्तसम्म कुल ३३ अर्ब ८८ करोड रुपैयाँ पुगेको बताए।
कार्यक्रममा प्रधानसेनापति राणाले विनाशकारी भूकम्पबाट पूर्ण रूपमा घर क्षति भएका भूतपूर्व सैनिक र एकल महिला गरी दस जनालाई ५० हजार रुपैयाँका दरले सैनिक कल्याणकारी कोषबाट प्रदान गरिएको राहत रकम हस्तान्तरण गरेका थिए।
उनले भूकम्पपीडित भूतपूर्व सैनिक रुद्रबहादुर बिष्ट, लक्ष्मण थापा, टिकाबहादुर थापा, कृष्णबहादुर भुजेल, हर्कबहादुर आलेमगर, चन्द्रबहादुर मैनाली, एकल महिला मखमली थाम, बच्चु थापा, मन्दोदरी सत्याल र सन्दोकान्छी तामाङलाई राहत रकम स्वरूप ५०÷५० हजार रुपैयाँ प्रदान गरे।
नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट बैंकको संयुक्त सहकार्यमा व्यक्तिगत रूपमा विभिन्न किसिमका लघु व्यवसाय सञ्चालन गर्न चाहने सन्तबहादुर पराजुली, रामसिं तामाङ, तिर्थबहादुर तामाङ, कमलबहादुर विष्ट, चन्द्रबहादुर तामाङ, माईते तामाङ, सानुबाबु कार्की, ईन्द्रबहादुर तामाङ, सूर्यबहादुर तामाङ र एकल महिला सन्तमाया तामाङलाई प्रधानसेनापति राणा र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले संयुक्त रूपमा सहुलियत ऋण वापतको एक÷एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा नेपाली सेना कल्याणकारी बोर्डका कार्यकारी प्रमुख अधिकृत अवकाश प्राप्त रथी चित्रबहादुर गुरुङले बोर्डले वहालवाला सेना र भूतपूर्व सैनिक र तिनीहरुको परिवारको लागि अघि सारिएका कार्ययोजनाको बारेमा जानकारी दिएका थिए।