सुनसरी, आषाढ १७ । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव यो बर्षकै उच्च पुगेको छ ।बुधबार राती १० देखि २ बजेसम्म गरिएको मापन अनुसार नदीमा पानीको बहाव प्रतिसेकेण्ड १ लाख ५६ हजार ३ सय ५६ क्युसेक पुगेको हो ।

नदीमा पानीको बहाव उच्च भएसंगै राती व्यारेजमा खतरा स्वरुप रातो बत्ती बालेरएकतर्फी सवारी संचालन गरिएको थियो ।नदीमा प्रतिसेकेण्ड १ लाख ५० हजार क्युसेक पानी नाघेपछि खतरा मानिदैं आएको छ ।उता, बिहीबार बिहान सात बजे गरिएको मापन अनुसार भने नदीमा पानीको बहाव केही घटेको छ ।

पानीको बहाव घटेर प्रतिसेकेन्ड १ लाख २९ हजार ९ सय ३५ क्युसेक पुगेको हो । अहिले सप्तकोसीका ५६ मध्ये २० वटा ढोका खोलिएका छन् ।पूर्वी पहाडी जिल्लाहरुमा लगातार बर्षा हुन थालेपछि नदीमा पानीको बहाव बढ्ने क्रम जारी रहेको छ ।

उता, कोशी पीडित संघर्ष समितिले भने सप्तकोशीमा बाढी आउंदा समेत भारतले कोशी व्यारेजका सबै ढोका नखोल्दा बर्षादको तीन महिना त्रासमा बस्नु परेको भन्दै व्यारेजको सबै ढोका खोल्न भारत सरकारसंग आग्रह गरेका छन् ।