१७ असार, काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा कुहिएको चामल भेटिएपछि आलोचित बनेको संयुक्त राष्ट्र संघले गल्ती स्वीकार्नुको साटो उल्टै धम्कीपूर्ण भाषामा चेतानवी दिएको छ ।
राष्ट्रसंघका मानवीय सहायता मामिलासम्बन्धी समन्वय महाशाखाका निर्देशक जोन जिङले संघबाट नेपाल पठाइएको सामग्री स्तरहीन र कुहिएको भन्ने कुरा वाहियात भएको बताए । नेपालले यसरी आरोप लगाए राहत सामग्री अन्य अभावग्रस्त मुलुकमा लैजाने उनले धम्की दिए ।

विश्व खाद्य कार्यक्रमले गोरखा र अन्य जिल्लामा आपूर्ति गरेको चामल र दाल कुहिएको, स्तरहीन र मानवीय उपभोगलायक नभएको भन्दै राष्ट्रिय मानवाधिकार आयोग र संसदहरुले आपत्ती व्यक्त गरेका थिए । गोरखामा बाँडिएको चामलका तस्वीरहरुले चामल कुहिएको कुरा स्पष्ट देखाएका थिए । तर राष्ट्र संघ प्रतिनिधिले भने  त्यो असत्य र नेपाली जनताबीच राष्ट्रसंघको छवि धुमिल्याउने प्रयास भएको आरोप लगाए ।

विवादका बीच नेपाल आएका निर्देशक जिङले भूकम्पबाट सर्वाधिक प्रभावग्रस्त सिन्धुपाल्चोकको भ्रमण गरी काठमाडौं आएर पत्रकारसम्मेलन गर्दै आक्रोश पोखेका हुन्। विश्व खाद्य कार्यक्रमविरुद्धको यो आरोप फिर्ता नगरिए खाद्य सामग्रीहरूको आपूर्ति बन्द गरी इराक र सिरियाजस्ता मुलुकमा लैजाने धम्की पनि उनले दिए।

मानवीय सहायताका नाममा गरीब देशहरुमा जे गरेपनि हुन्छ भन्ने पश्चिमी सहायता मानसिकता बोकेका ती प्रतिनिधिले खाद्य कार्यक्रमको कुहिएको चामलबारे आएको समाचारप्रति टिप्पणी गर्दै भने–ननसेन्स।

राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि जेमी म्याक गोल्डरिकका साथ उनले मंगलबार सिन्धुपाल्चोकको सदरमुकाम चौतारा पुगेर त्यहाँका सरोकारवालासँंग परामर्श गरेका थिए।

जिङले नेपालमा रहँदा भूकम्पपीडित, राष्ट्रिय र स्थानीय सरकारका प्रतिनिधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि, वित्तीय र प्राविधिक साझेदारसँग अन्तरक्रिया गरेपछि पत्रकारसम्मेलन गरेका हुन्।

मनसुन सुरु भइसकेकाले त्रिपाल र जस्तापाता मात्रै पर्याप्त नहुने पनि उनले बताए। अन्तर्राष्ट्रिय समुदायले ल्याएका राहत सामग्रीमा कर लगाउने सरकारी नीतिप्रति पनि जिङले असन्तुष्टि जनाए।