१६ असार, काठमाडौं। कृषिमन्त्री हरिप्रसाद पराजुलीले धान दिवसका दिन हिलो छ्यापेको विषयमा कपो–कल्पित प्रचार नगर्न आयोजक मनोहरा मिश्रित कृषक समूह र महाङ्काल सफल कृषक समूहले सबैसँग आग्रह गरेको छ।
उनीहरुले आज संयुक्त बिज्ञप्ति निकालेर यस्तो बताएका हुन्। ‘कृषकहरुद्धारा स्वस्फूर्तरुपमा खेलिएको हिलो छ्यापाछ्यापलाई केहि सञ्चार माध्यमहरुले अतिरञ्जित गरी, बङ्गाई अर्थको अनर्थ र अनर्गलरुपमा प्रचार प्रसार गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनीहरुले निकालेको प्रेश वक्तब्यमा उल्लेख छ।
कृषिमन्त्री हरिप्रसाद पराजुलीप्रति फैलाइएको भ्रामक समाचारको २ वटा आयोजकले खण्डन गरेका छन्। कपो–कल्पित, भ्रामक र दिग्भ्रमित पार्ने खालका समाचार प्रेसित नगर्न समेत आफूहरुले सम्बन्धित सवैको ध्यानाकर्षण गराएको मनोहरा मिश्रित कृषक समूहकी अध्यक्ष जर्मदा फुयाँलले बताईन। त्यस्तै महाङ्काल सफल कृषक समूहकी अध्यक्ष पार्वती चापागाइँले पनि हल्लाको पछि नलाग्न सबैसँग आग्रह गरिन्।