१६ असार, काठमाडौं । नेदरल्याण्ड  विरुद्धको पहिलो ट्वेन्टी ट्वेन्टी खेलमा नेपाल पराजित भएको छ ।  मंगलबार राती सम्पन्न खेलमा नेपाल नेदरल्याण्डसँग १८ रनले पराजित भएको हो । बलरले उत्कृष्ट प्रदर्शन गरेको खेलमा नेदरल्याण्डले  दिएको १ सय ३५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले निर्धारीत २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १ सय १६ रन बनाउन सक्यो ।

नेपालका लागि कप्तान पारस खड्काले अविजित ४५, ज्ञानेन्द्र मल्लले २४, राजेश पुलामी मगरले १३ र सरद भेष्वाकरले १० रन बनाए । नेपालका प्रदिप ऐरी ६, विनोद भण्डारीले ५,सुवास खकुरेल र करण केसीले समान २ र बसन्त रेग्मिले १ रन बनाए । नेदरल्याण्डका असन जमिलले ३, टिम भान  डेरले २ र मिचेल रिपोनले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले निर्धारीत २० ओभरमा ५ विकेट गुमाउदै १ सय ३४ रन बनाएको थियो । नेदारल्याण्डका लागि स्टेफन माएवर्गले ६७, मिचेल रिपोनले २५ र पिटर वोरेनले १५ रन बनाएका थिए । नेदरल्याण्ड विरुद्ध राम्रो बलिङ गरेको नेपालका लागि बसन्त रेग्मीले २ र करण केसीले १ विकेट लिए ।