जेष्ठ २७ ,ललितपुर। भूकम्पका कारण ललितपुरका करिब दुई दर्जन बस्ती अन्यत्र सार्नुपर्ने देखिएको छ । सार्नुपर्ने अधिकांश बस्ती दक्षिण पहाडी भेगका दुर्गम गाविसका हुन् ।

प्राविधिक टोलीले चन्दनपुर, इकुडोल, माल्टा, प्युटार, देवीचौर, घुसेल, शंखु, मानिखेल, चौघरे, कालेश्वर, ठूलादुर्लुङ, भट्टेडाँडालगायत १४ गाविसका २ दर्जनभन्दा बढी बस्ती अन्यत्र सार्नुपर्ने जिल्ला दैवीप्रकोप उद्धार समितिमा सोमबार प्रतिवेदन बुझाएको छ ।

अति विकट ठूलादुर्लुङ–८ स्थित चर्केको बालुवाडाँडाका बस्तीमा व्यापक क्षति पुर्‍याउन सक्ने प्रतिवेदनमा उल्लेख छ । वातावरण मन्त्रालय, खानी तथा भूगर्भ विभाग, जिल्ला भू–संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिविस, जिल्ला प्राविधिक कार्यालय र सम्बन्धित गाविस सचिवहरूबीच प्रतिवेदन सम्बन्धमा सोमबार छलफलसमेत भएको थियो ।

ठूलादुर्लुङका गाविस सचिव गुमानबहादुर बस्नेतले थप मानवीय क्षति हुन नदिन वर्षायाम सुरु हुनुअघि नै आवश्यक अध्ययन गरी बस्ती सुरक्षित स्थानमा सारिनुपर्नेमा जोड दिए । उनका अनुसार लसिम डाँडा पनि पहिरोको जोखिममा छ । ‘३ नम्बरस्थित भैरवथुडडाँडा चर्किएको छ,’ उनले भने, ‘यसले ३, ४ र ५ नम्बरका बस्तीहरू जोखिममा छन् ।’

उनले ६ नम्बरस्थित सिलिंगे डाँडा र सोला भन्ज्याङसमेत बाढी पहिरोको खतरामा रहेको बताए । ‘वडा २ स्थित गामराङ र लोपचन बस्ती पनि उस्तै छन्,’ उनले भने ।

चन्दनपुर ६ स्थित घटगाउँ र ४, ५, ७, ८ र ९ नम्बरका ६९ घरधुरी अन्यत्र सार्नुपर्ने देखिएको छ । माल्टा ४ पाखोला, छोकर पाखा, १ स्थित पाँचे बस्ती पहिरोको जोखिममा छ । प्युटार २, ४ र ६ र इकुडोल ५, ६ र ८ नम्बरका बस्ती पहिरोको जोखिममा रहेको प्रतिवदेनमा उल्लेख छ ।

देवीचौर ६ स्थित सीमाखेल वाग्मती किनारस्थित ९ घर र ७ नम्बर छोटीडाँडास्थित ३५ घर र प्रावि पनि पहिरोको जोखिममा रहेको सम्बन्धित गाविस सचिवले प्रतिवदेनमा उल्लेख गरेका छन् ।

घुसेल २ झाँगलकोट, ३ स्थित कुटुन, दिभान, ४ स्थित ओख भन्ज्याङ, पाडफल, ६ स्थित मानेडाँडा र ८ स्थित माकलडाँडा भूकम्पले बढी क्षतिग्रस्त तथा भूक्षयको तीव्र सम्भावना छ ।

त्यस्तै शंखु– १ मैफुन, बतासेडाँडा, मगरगाउँ र खरिडाँडा पहिरो छेउमा छ । मानिखेल २, ३, ४, ७ र ८ नम्बर, चौघरेको १, २, ४, ५, ६, ७ र ९ नम्बर पहिरोको जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ ।

कालेश्वर–१ खानीडाँडा माथिल्लो भेग १२ घर, ४ नम्बरको ४ घरधुरी, २ र ७ नम्बरको २ घर र ८ को २० घर पहिरोको जोखिममा छ ।

पहिरोको जोखिमले भट्टेडाँडा ७ नम्बरका करिब ५/६ घर अन्यत्र सारिसकेको गाविस सचिव ध्रुव थापाले बताए । ‘२८/३० घर सुरक्षित ठाउँमा सार्न सकिरहेको छैन,’ उनले भने, ‘बुलाकीचौरका १५ घरधुरी तत्काल अन्यत्र सार्नुपर्ने देखिएको छ ।’

बुखेलका गोल छाप्रो, लामीडाँडा, तोड्के र बुखेलबस्ती पहिरोको जोखिममा छ । दलचोकीको खोर्सानीबारी, मनकामना मन्दिर, गोठ भन्ज्याङ, सिलिंगेबेंसी, सिरुडाँडा, घैयाबारी, चिहानडाँडा र महभीर बस्ती भूक्षयको जोखिममा छन् ।