काठमाडौं, जेठ २६ – एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धन मंगलबार औपचारिक रुपमा विभाजन भएको छ । शीर्ष चार दलले गरेको १६ बुँदे सहमतिबाट असन्तुष्ट दलहरुले मोर्चाबाट अलग हुने निर्णय गरेका हुन् । सहमतिबाट असन्तुष्ट रहेका मधेशी दलहरुसहित १७ दलको सिंहदरवारमा बसेको बैठकले मोर्चाबाट अलग हुने निर्णय गरेको हो । बैठकमा भएको निर्णय जानकारी दिँदै तमलोपाका हृदयेश त्रिपाठीले ३० दलीय गठबन्धनसँग सम्बन्धविच्देछ गरेको जानकरी दिए । चार दलको १६ बुँदे सहमतिमध्ये हामीलाई कुनैमा सहमति छैन,त्रिपाठीले भने । उनले भूकम्पपीडितलाई राहत र पुर्नस्थापना गर्न छाडेर प्रचण्ड र विजयकुमार गच्छदार सत्ताको खेलमा लागेको आरोप लगाए । उनले १६ बुँदे सम्झौतालाई प्रतिगमनको सुरुवातको संज्ञा दिएका छन् । ‘यो सम्झौता अन्तरिम संविधानको १३८ धारालाई उल्लंघ मात्र गरेको छैन त्यसको गरिमालाई पनि ध्वस्त गरेको छ ।’ उनले शीर्ष दलहरुबीच भएको सहमति संघीयतालाई ओझेलमा पार्ने खेल भएको अरोप लागए । ‘अब यसको कडा विरोध हुन्छ ।’ आजको बैठकले संविधानसभाको बैठकलाई बहिस्कार गर्ने निर्णय समेत गरेको छ ।