पोखरा जेठ २६ ।  पर्यटकको मुख्य आकर्षण मानिने फेवाताल पुरिने क्रममा नयाँ टापु बनेको छ। तालको मुख्य स्रोत हर्पन खोलाले बगाएर ल्याएको माटो र गेगरले ताल पुरिएर खपौदी क्षेत्रमा दुई वर्षमै ठूलो टापु बनेको हो।
फेवाताल पुरिँदै जाँदा यसअघि नै तीन भागमा विभाजित भइसकेको छ। फेवाताल चौडा पार्ने भन्दै स्थानीय प्रशासनले पाँच वर्षअघि तालको सिरानबाट माटो खोतल्दा पुरिने क्रम बढेर नयाँ टापु बनेको हो।
तालको सिरानका साना ताल हुँदै मुख्य तालमा मिसिने हर्पन खोला दुई वर्षअघिदेखि बाटो परिवर्तन गरी सीधै मुख्य तालमा मिसिएको हो। यस क्रममा खपौदी क्षेत्रमा करिब १० रोपनी क्षेत्रफलको नयाँ टापु बनेको फेवा मत्स्य व्यवसायी समितिका पूर्वअध्यक्ष ज्ञानबहादुर जलारीले बताए।
‘मैले जान्दा फेवा एउटै ताल थियो। यही तालमा माछा पालेर जीवन निर्वाह गर्दै आएका हामी ९१ जलारी समुदाय ताल पुरिएसँगै चिन्तामा छौं’, उनले भने, ‘यो ताल पुरिए हाम्रो पेसा नै संकटमा पर्छ।’
हर्पन खोलाले बाटो बदल्दा गत वर्ष माछासहितका ४६ केज पुरिएर पाँच लाखबराबरको क्षति भएको जलारीले बताए। माछा व्यवसायको मात्रै नभएर यही गतिमा ताल पुरिंदै जाने हो भने नयाँ पुस्ताले ताल नै देख्न नपाउने हुन् कि भन्ने चिन्ता उनीहरूको छ।
पोखरा उपमहानगरपालिकाका इन्जिनियर महेन्द्र गोदारले हर्पन खोलाले पुरेर नयाँ टापु बने पनि त्यो क्रम रोक्न कुनै काम नगरिएको बताए। ‘अहिले हामी तालको सीमांकन गर्दैछौं। नाप्ने काम सुरु भइसक्यो’, गोदारले अन्नपूर्णसँग भने, ‘त्यसपछि प्राकृतिक रूपमा पुरिएको र मापदण्डको कुरा हेर्ने हो।’
फेवाताल वरपरको डाँडा र सीमसार क्षेत्रमा जथाभावी डोजर चलाउँदा हर्पन खोला हुँदै माटो तालमा भरिएर तालको क्षेत्रफल घट्दै गएको हो। प्रतिवर्ष फेवातालमा एक लाख ४२ हजार मेट्रिक टन गेगर थुप्रिंदै आएको अध्ययनले देखाएको छ।
फेवाताल हाल आएर पाँच वर्गकिलोमिटर क्षेत्रफलमा सीमित भएको छ। उचित संरक्षणका अभावमा ४० देखि ५० वर्षको अवधिमा ताल ५० प्रतिशत पुरिएको अध्ययनले देखाएको छ। यही गतिमा ताल पुरिंदै जाने हो भने ७५ देखि सय वर्षमा ताल पूरै पुरिने इन्जिनियर गोदार बताउँछन्।
समुद्री सतहदेखि सात सय ९३ मिटरको उचाइमा यो ताल रहेको छ। यही तालको भरोसामा पोखराको पर्यटन उद्योग चलेको छ। फेवातालबाट तीन सय ३० हेक्टर क्षेत्रफलमा सिंचाइ हुँदै आएको छ।
नेपाल सरकार भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागको २०६४ सालमा प्रकाशित प्रतिवेदनअनुसार त्यति बेला यस तालको गहिराइ १८ मिटर, कुल लम्बाइ चार किलोमिटर र चौडाइ सय मिटरदेखि दुई किलोमिटर थियो।
सन् १९५७ को नापीअनुसार लगभग २२ हजार रोपनीमा फैलिएको फेवाताल सन् २००० यताका अध्ययनमा घटेर नौ हजार नौ सय ५५ रोपनीमा सीमित भएको छ।