काठमाडौं जेठ २६ । बाँकेमा एक नक्कली परिक्षार्थी पक्राउ परेका छन् । उच्च माध्यमिक शिक्षा परिषद्द्वारा सञ्चालित कक्षा १२ को परिक्षा अन्तरगत आइतबार आँशिक तर्फको अनिवार्य अंग्रेजी विषयको परीक्षा दिदै गरेको अवस्थामा लक्ष्मी उच्च मावि कोहलपुर २ बर्दहवा परिक्षाकेन्द्रमा आफ्ना दाजु सशस्त्र प्रहरी बल त्रिपुरागणमा कार्यरत प्रहरी जवान कमल पाण्डेको नामबाट उनका भाइ निर्मल पाण्डेले परीक्षा दिदै गरेको अवस्थामा पक्राउ परेका हुन् । परीक्षा सञ्चालन भैरहेको अवस्थामा केन्द्राध्यक्ष बद्री सापकोटाले उसको व्यवहार प्रति शंका लागेपछि चेकजाँच गर्दा ऊ नक्कली परीक्षार्थी भएको थाहा भएको बताए ।

त्रिभुवन उच्च माध्यमिक विद्यालयको आंशिक तर्फका विद्यार्थी कमल पाण्डेले आफ्ना बिबिएसमा अध्यनरत भाइ निर्मल पाण्डेलाई परीक्षा दिन लगाएको सोधपुछका क्रममा थाहा पाएपछि आफूहरुले उनका दाई सक्कली परिक्षाथी कमल पाण्डेलाई समेत विद्यालयमा बोलाई ईलाका प्रहरी कार्यालय कोहलपुरको जिम्मा लगाएको जानकारी दिए ।

यसैबिच नक्कली परीक्षाथी प्रक्राउ परेको खबर थाहा पाएपछि समाचार संकलनका लागि लक्ष्मी उच्च मावि परिक्षा केन्द्रमा पुगेकी हरेकपल सहकर्मी पत्रकार अमृता केसीलाई ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपि जनक बहादुर शाहीले फोटो खिच्नबाट रोक लगाएका छन् । पत्रकार केसीले प्रवेशपत्रको फोटो खिच्न खोज्दा फोटो खिच्न नदेउ भन्दै आफ्ना कर्मचारीलाई निर्देशन दिएपछि प्रहरीले केसीलाई फोटो खिच्नबाट रोक लगाएका थिए । यता उच्च माध्यमिक शिक्षा परिषद क्षेत्रिय कार्यालय कोहलपुरका प्रमुख राजेन्द्र अधिकारीले कमल पाण्डेको परीक्षा रद्ध गरिने बताएका छन् । । उनले आफू जिल्ला बाहिर रहेको भन्दै आफु तुरुन्त फर्कन लागेकाले नियामवली अनुसार कारबाही गर्ने बताए ।