काठमाडौं जेठ २६ । इराकको दोस्रो ठूलो शहर मोसुलबाट प्राप्त विशेष भिडिओ फुटेजहरुमा इस्लामिक स्टेट लडाकुहरुले मानिसहरुको दैनिक जीवनमा बल प्रयोग गरिरहेको देखिएको छ।

उक्त समूहले मोसुललाई नियन्त्रणमा लिएको एक वर्षपछि त्यहाँका मानिसहरुको दैनिकी प्रकाशमा आएको हो।

भिडिओ फुटेजहरुमा मस्जिदहरुमा विष्फोट गराइएको, विद्यालयहरु अलपत्र छाडिएका र महिलाहरुलाई पूरै शरीर ढाक्ने गरी लुगा लगाउन बाध्य पारिएको देखिन्छ।

गोप्य रुपमा खिचिएका ती भिडिओ फुटेजहरु बीबीसीका गदी सारीले प्राप्त गरेका हुन्।

त्रास

पोशाकलाई लिएर उनीहरु साह्रै कडा छन्, महिलाहरुले शिरदेखि पैतलासम्म ढाक्ने कालो पोशाक लगाउनुपर्ने रहेछ

हाना, स्थानीय वासिन्दा

इस्लामिक कानुनको कडा व्याख्या गर्ने उक्त समूहले सजाय दिन सक्ने त्रासमा आफूहरु बाँचिरहेको स्थानीय मानिसहरुले बताएका छन्।

उनीहरुका अनुसार सरकारले गर्ने भनिएको कारवाहीको प्रतिकार गर्ने तयारी पनि लडाकुहरुले गरिरहेका छन्।

इस्लामिक स्टेट लडाकुहरुको नियन्त्रणमा मोसुल जानुलाई उत्तरी क्षेत्रमा उनीहरुको पकड कायम भएको रुपमा हेरिएको थियो।

त्यससँगै त्यहाँबाट सेनाहरु धपाइएका थिए र दशौं हजार मानिसहरु उक्त स्थान छोडेर भागेका थिए।

गोप्य

गत वर्षका विभिन्न महिनाहरुमा गोप्य रुपमा ती भिडिओहरु खिचिएका थिए।

ती भिडिओहरुबाट इस्लामिक स्टेट लडाकुहरुको नियन्त्रणमा मानिसहरुको जनजीवनको वास्तविकता देखाएको बताइएको छ।

आफ्नो नाम हाना बताउने एक महिलाले भनिन्, “पोशाकलाई लिएर उनीहरु साह्रै कडा छन्, महिलाहरुले शिरदेखि पैतलासम्म ढाक्ने कालो पोशाक लगाउनुपर्ने रहेछ।”

आदिवासी र धार्मिक अल्पसंख्यकहरुका घर कसरी नियन्त्रणमा लिइएका छन् भन्ने कुरा पनि भिडिओमा देखिन्छ।

स्रोत बिबिसि