नयाँ दिल्ली, जेष्ठ २६ – भारतका केन्द्रीय यातायात मन्त्री नितीन गडकरीले भारत-नेपालका ६ प्रमुख राजमार्गलाई दुबै देशको सीमावर्ती बिन्दूसम्मै छ लेनको बनाइने बताएका छन् । उनले काम सुरु गरिहाल्ने जानकारी दिएका छन् ।

Gadkari-N-Upadhya

शिष्टाचार भेटघाटका लागि यातायात भवन पुगेका राजदूत दीपकुमार उपाध्यायसँग कुराकानी गर्दै मन्त्री गडकरीले दुबै देशको सीमावर्ती बिन्दूसम्मका राजमार्ग बिस्तारका क्रममा ओभरहेड ब्रिज अथवा डाइभर्सनको सुविधा समेत जोडिने बताए । ‘दुबै देशको आवागमन जोड्ने सम्पर्क सडकलाई राष्ट्रिय राजमार्गसम्म बिस्तार गर्न र यातायातको सहज पहुँच तयार गर्न भारत सरकार तत्पर छ,’ गडकरीले राजदूत उपाध्यायसँग भने, ‘सम्पर्क सडक बिस्तारमा के–कति प्राविधिक र आर्थिक सहयोग आवश्यक पर्ने हो, त्यसबारे तत्कालै जानकारी गराउनुहोला ।’

राजदूत उपाध्यायका अनुसार बनबासा–महेन्द्रनगर, गोरखपुर–भैरवहा, मुजफ्फपुर–बीरगंज, पुर्णिया–बिराटनगर, बहराइच–नेपालगंज र सिलिगुढी –काँकडभिट्टा जस्ता मुख्य सम्पर्क सडकलाई छ लेनमा बिस्तार गर्नेबारे भारत सरकारले कार्ययोजना तयार गरिरहेको छ । राजदूत उपाध्यायले पनि यी सम्पर्क सडकको नेपाल भागमा पनि सडक बिस्तार र स्तरीकरणको काम भइरहेको जानकारी गराएका थिए ।

मन्त्री गड्करीले भारतीय सहयोगमा निर्माण हुने भनिएको हुलाकी सडकमा देखिएको व्यवधान हटाउन र तत्काल सडक निर्माण प्रक्रिया अघि बढाउन पनि भारत सरकार तत्पर रहेको बताएका थिए ।