काठमाडौं जेठ २६ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिनाइजाजत यार्सागुम्बाको कारोबार गरेको अभियोगमा पाँच जनालाई आइतबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दोलखाका गोपाल विक, राजु बराल, सुमन लामा, नवराज तामाङ र कालीबहादुर शाह छन्। ब्युरोका प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीका अनुसार उनीहरुले कहीँ कतैबाट पनि अनुमति नलिई यार्सागुम्बाको कारोबार गरेको पाइएकाले काठमाडौँ टोखा नगरपालिका–९ बाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो।
उनीहरुलाई वन ऐन २०४९ विरुद्धको अपराधअन्तर्गत कारबाही गरिने प्रहरीले जनाएको छ । रासस