२५ जेठ, पोखरा । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आउँदो बुधबारदेखि पोखरा र चितवनमा हुने भएको छ । यसअघि सो प्रतियोगिता बैशाख २८ गतेदेखि गर्ने भनिए पनि भूकम्पका कारण स्थगित गरिएको थियो ।भूकम्पले काठमाडौंमा क्रिकेट मैदान बिगि्रएपछि पोखरा र चितवनमा प्रतियोगिता गर्न लागिएको हो ।

असार २ गतेसम्म संचालन हुने प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफसहित १० टिम सहभागि हुने आयोजक क्षेत्रीय क्रिकेट संघ पोखराका अध्यक्ष देवेन्सन प्रजुले जानकारी दिए ।पोखरा रंगशालामा समूह ‘ए’ का लिग चरणका खेलसहित सेमीफाइनल र फाइनल खेलहरु हुनेछन् । चितवनमा समूह ‘बी’ का लिग चरणका खेलहरु हुनेछन् ।

समूह ‘ए’ मा क्षेत्र नम्बर १ विराटनगर, क्षेत्रनम्बर ३ काठमाडौं, क्षेत्रनम्बर ५ नेपालगञ्ज, क्षेत्रनम्बर ८ पोखरा र विभागीय एपीएफ रहेका छन् ।त्यस्तै, समूह ‘बी’ मा क्षेत्रनम्बर २ बिरगञ्ज, क्षेत्रनम्बर ४ भैरहवा, क्षेत्रनम्बर ६ बैतडी, क्षेत्रनम्बर ७ जनकपुर र क्षेत्रनम्बर ९ धनगढी रहेका छन् ।