मुम्बाई, जेठ २४ – वलिवुड स्टार शाहिद कपुरले यही मंगलबार (जुन १०) का दिन गुपचुप विवाह गर्ने भएका छन् । भारतीय मिडियाहरुले शाहिदले मिरा राजपुतसँग ग्रीसमा शाहिदको विवाह हुन लागेको बताएका हुन् ।

यस विवाहका लागि शाहिदका फ्यानहरु उत्साहित रहे पनि शाहिद भने आफ्नो विवाह समारोहलाई सकेसम्म गुपचुप र निजी राख्न चाहन्छन् । विवाहमा केवल दुई परिवारका आफन्तहरुमात्र सामिल हुने बताइएको छ । त्यही भएर विवाहका लागि कुनै कार्ड बाँडिएको छैन भने बलिवुडका कसैलाई आमन्त्रित गरिएको छैन ।

शाहिद र मिराको इन्गेजमेन्ट गत जनवरी १४ का दिन मकर संक्रान्तिको अवसर पारेर भएको थियो । यसलाई पनि मिडियाबाट गुपचुप नै राखिएको थियो ।

भारतीय मिडियाका अनुसार मिराको उमेर २३ वर्षको रहेको छ भने शाहिद ३४ साल पुगिसकेका छन् । शाहिद आफूभन्दा ११ वर्ष सानी युवतीसँग विवाह गर्न लागेका छन् ।

दुवैको भेट राधा स्वामी सत्संग व्यासको मार्फत भएको थियो । शाहिद र उनका पिता पंकज कपुर यस समूहलाई निकै मान्छन् ।