काठमाडौं, जेठ २५ – संविधानका विवादीत विषयमा सहमति कायम गर्नका लागि निर्णायक मानिएको शीर्ष तीन दलसहित मधेशी मोर्चाबीचको बैठक सोमबार प्रधानमन्त्री निवासमा शुरु भएको छ । धेरै विवादीत विषयमा दलहरु सहमति नजिक पुगेकाले आज सहमति हुन आशा गरिएको छ ।

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दलहरुबीच आज सहमति हुनेमा विश्वास व्यक्त गरे । उनका अनुसार निर्वाचन प्रणालीमा ६० प्रतिशत प्रत्यक्ष निर्वाचित र ४० प्रतिशत समानुपातिक रहने गरी दलहरु सहमति नजिक पुगेका छन् । त्यस्तै, अहिले छलफलमा रहेको संघीयताको विषयमा एमाओवादीले संविधानका विवादीत विषयमा सहमति गर्दा सीमांकनलाई टुंग्याएर मात्र अघि बढ्नुपर्ने अडान राखेको बताए ।

उता, नेपाली कांग्रेस र एमालेले भने नामांकन प्रदेशसभाले र सिमांकन विज्ञहरुको आयोगले गर्ने गरि ८ प्रदेशमा पनि जान सकिने बताउँदै आएको छ ।

शासकीय स्वरुपमा एमाओवादीले लिखित असहमति राखेर जाने बताइएको छ ।