जेठ २४,ढाका। भारत र बंगलादेशले सीमावर्ती बस्तीहरु सट्टापट्टा गरी नयाँ सीमांकन गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । यसबाट दुबै देशको सीमानक्सा परिवर्तन हुने छ ।
भ्रमणका क्रममा ढाकामा रहेका भारतीय प्रधानमन्त्री मोदीले ऐतिहासिक भूमि सीमा सम्झौता गरेका हुन । सम्झौतामा दुबै देशका बीचमा साझा बस सेवा तथा समुद्री सुरक्षा, मानव तस्करी र जाली नोटहरुको कारोबार नियन्त्रणलगायतका कैयन् महत्वपूर्ण सम्झौता विषय समावेश छन् ।
शनिवार साँझ पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले बंगलादेशसँग भावनात्मक लगाव भएको बताए । मोदीले दुई देशबीच विवाद हुँदै आएको टिस्टा र फेनी नदीको पानी बाँडफाँडका विषयमा भने आपसी सहमतिका आधारमा विवाद टुंग्याउनुपर्ने धारणा व्यक्त गरेका थिए । बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेदले बंगलादेशको स्वतन्त्रतामा भारतको ठूलो हात रहेको बताइन ।

शनिवार सम्पन्न भूमि सम्झौता अनुसार ४१ वर्षदेखि जारी सीमा विवाद समाप्त भएको छ । मोदी र शेख हसिनाबीच भएको यो सम्झौता अनुसार, भारतका १११ वटा गाउँहरु बंगलादेशमा गाभिनेछन् भने भारतलाई ५१ गाउँहरु बंगलादेशले दिनेछ । यसरी बंगलादेशलाई १० हजार एकड जमिन पाइनेछ भने भारतलाई ५०० एकड जमिन पाइनेछ ।