काठमाडौं, जेठ २४ – काठमाडौं उपत्कासहित पश्चिम तराईमा गर्मी अझै बढ्ने अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्व बाहेकका ठाउँमा गर्मी बढ्ने अनुमान गरिएको हो । मौसमविद् बरुण पौडेलले अहिले तत्काल पानी पार्ने कुनै वायु सक्रिय नभएकाले अझै केही दिन गर्मी बढ्ने अनुमान गरिएको बताउनुभयो ।

मध्य तथा सूदुरपश्चिममा मंगलबारदेखि सामान्य बदली हुने संभावना रहेको उहाँको भनाई छ । उहाँका अनुसार काठमाडौं उपत्यका सहित मध्य क्षेत्रमा भने बेलुकापख सामान्य बदली भै फाटफुट पानी परे पनि दिउँसो अझै केही दिन चर्को घाम लाग्ने सम्भावना छ । काठमाडौंको तापक्रम हिजो तीनवर्ष यताकै उच्च ३५ डिग्री सेल्सियस पुगेको थियो ।अहिले त्यो मनसुनी वायु दक्षिण पूर्वी बंगालको खाडीमा आइपुगेपनि त्यति सक्रिय नभएको महाशाखाले जनाएको छ । यो नेपाल आइपुग्न अझै केहि दिन लाग्ने देखिएकाले यसपाली पनि मनसुन ढिला सुरु हुने अनुमान गरिएको मौसमविद् पौडेलले बताउनुभयो ।