काठमाडौं, जेठ २२ – विनाशकारी भूकम्पका कारण रोकिरहेको रातो मच्छिन्द्रनाथको रथजात्रालाई फेरि संचालन गर्ने सम्वन्धमा आज निर्णायक छलफल हुने भएको छ ।

छलफलमा गुथि संस्थान ललितपुर शाखा, पुजारी,  रथ बनाउन संलग्न गुथियार लगायतका रथयात्रासँग सम्वन्धित सबै समुदायको प्रतिनिधिको सहभागिता हुने पनि ज्यापू समाजका अध्यक्ष मंगल महर्जनले बताउनु भयो ।  भूकम्पपछि रथयात्राको लागि बुँगमतीको छयासी कोटबाट पुल्चोकसम्म तान्नको लागि तयारी भएको पनि महर्जनले बताउनुभयो ।

बुँगमतीबाट पुल्चोकसम्मको बाटोमा समस्या नभएको तर गाबहाल, महापाल, सुन्धारा लगायत पुल्चोकदेखिको भित्री ठाउँमा अधिकाशं घर भूकम्पका कारण क्षति भएको र टेको लगाइएको कारण रथयात्रामा समस्या पर्ने भएकोले मलमास महिना शुरु हुनुअघि पुल्चोकसम्म पुर्याउने तयारी भएको हो । मलमास महिनामा रथ तान्न नहुने परम्परा छ । यसपाली१२ वर्षे रथयात्राको क्रममा रातो मच्छिन्द्रनाथको रथलाई गएको बैशाख ९ गते बुंगमतीबाट तानिएको हो । बैशाख १२ गतेको भूकम्पका कारण बुँगमतीको छयासी कोटमा राखिएको छ भने मीननाथको रथ पाटनको नबहालमा राखिएको छ ।