२२ जेठ,भरतपुर । नारायणगढमा प्रधान कार्यालय रहेको राइजिङ डेभलपमेन्ट बैंकका ३८ जना कर्मचारी बर्खास्तीमा परेका छन् । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको एनडीईपी डेभलपमेन्ट बैंकसँग गाभिनका लागि छलफल भइरहेको समयमा सञ्चालक समितिले आफू खुसी कर्मचारी भर्ना गरेका थिए । एनडीईपी बैंकले अनावश्यक रुपमा कर्मचारी भर्ती गरेको भन्दै नियामक निकाय नेपाल राष्ट्र बैंकमा उजुरी गरेपछि राष्ट्र बैंकले ३८ जना कर्मचारी हटाउन निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशनपछि अन्ततः आर्थिक हिसाबले केही सुधारोन्मुख रहेको यस बैंक कर्मचारी हटाउन बाध्य भएको थियो । बैंकले अनाधिकृत रुपमा कर्मचारी भर्ना गर्नुका साथै कार्यरत पुराना कर्मचारीलाई दुई तहसम्म बढुवा गरेको थियो । हाल यी कर्मचारीहरु बैंकप्रति रूष्ट देखिएका छन् । उनीहरुले बैंक सञ्चालक समितिको ‘लापरबाही’ भनेका छन् । गाभिन लागेको अर्को बैंकले उजुरी गरेपछि आफूहरुले पछिल्लो समय भर्ना गरिएको सबै नयाँ कर्मचारीलाई स्वतः बिदाइ गरिएको बैंकका सीईओ डा. खेमराज भेटवालले बताए ।