मुम्बई : रणवीर कपुर र दीपिका पादुकोणबीच ब्रेकअप भएको धेरै भइसकेको छ। उनीहरूले बिछोडको पीडा भुलेर आआफ्नो बाटो तताइसकेका छन्। तर पनि यी दुईको सम्बन्धको चर्चा भने अहिले पनि कम भएको छैन।
ब्रेकअपपछि पनि उनीहरूको मित्रता कम भएको छैन। उनीहरू सँगै चलचित्रमा अभिनय गर्छन्। एकअर्काको बारेमा टिप्पणी पनि गर्छन्। यो सन्दर्भमा दीपिका अलि अगाडि छिन्। उनका कुरा सुन्दा लाग्छ, रणवीर अझै पनि उनको मनको कुनै कुनामा छन्।
हालै प्रदर्शित दीपिका अभिनीत ‘पिकु’ले राम्रो कमाइ गर्‍यो। सँगै उनका पूर्वप्रेमी रणवीर अभिनीत चलचित्र ‘बम्बे भेल्भेट’ले भने कमाउन सकेन। यो घटनामा दीपिका खुसी हुनु र रणवीर निराश हुनु स्वाभाविक हो।
दीपिका ‘पिकु’को सक्सेस पार्टीमा थिइन्। रणवीरको चलचित्र फ्लप भएको बेला दीपिकाले सक्सेस पार्टी गरिन् भनेर आलोचना गरियो। तर दीपिकाले भनिन्, ‘मैले रणवीरलाई चोट पु:याउन यसो गरेको होइन।’
पार्टीमा ‘बम्बे भेल्भेट’को टोलीलाई पनि बोलाइएको थियो। पार्टीमा निर्देशक अनुराग कश्यप, निर्माता मधु मन्टेना र विकास बहल पनि सहभागी थिए। पार्टीमा शीर्ष कलाकार रणवीरलाई पनि बोलाइएको दीपिकाले दाबी गरेकी छन्।
‘मैले पार्टीमा रणवीर र कटरिनालाई पनि बोलाएकी थिएँ’, उनले भनेकी छन्, ‘उनीहरू पार्टीमा सहभागी हुने मुडमा थिए कि थिएनन् मलाई थाहा भएन।’ उनले अपेक्षा गरेको चलचित्र असफल हुँदाको पीडा आफूले पनि भोगिसकेको बताएकी छन्।
‘रणवीरजस्तो राम्रो कलाकारका लागि चलचित्र असफल हुनु सुखद होइन’, पार्टीपछिको एक प्रसंगमा दीपिकाले भनेकी छन्, ‘मैले अहिलेसम्म यो चलचित्र हेरेको छैन तर यो मेरो साथीको काम हो।  उनलाई परेको दु:खमा मेरो सहानुभूति छ।’ -एजेन्सी

– See more at: http://www.annapurnapost.com/News.aspx/story/12739#sthash.a81gxb9C.k5Ve6AF8.dpuf