२१ जेठ, काठमाडौं ।सरकारले भूकम्पका कारण क्षतिग्रस्त उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक सम्पदा आगामी साउन ३२ गतेदेखि खुला गर्ने भएको छ । पुरातात्विक महत्वका पर्यटकलाई लोभ्याउने विश्व सम्पदा क्षेत्रमा सूचीकृत हनुमान ढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ, चाँगुनारायण क्षेत्र भूकम्पले क्षतिग्रस्त बनेपछि ती क्षेत्र केही दिनसम्म पर्यटकका लागि बन्द गरिएको थियो । क्षतिग्रस्त संरचनाको सरसफाइ भइरहेको र ती क्षेत्र आगामी साउन ३२ देखि पर्यटकका लागि खुला गरिने भएको छ । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार सम्पदा क्षेत्र भूकम्पले प्रभावित बनाए पनि पूरै क्षतिग्रस्त भएका छैनन् । “उपत्यकाका सम्पदा क्षेत्र भूकम्पले केही मात्रामा प्रभावित गरे पनि तिनीहरु पूरै ध्वस्त नभएका कारण पर्यटकलाई यी क्षेत्रको अवलोकन गराउने अवस्था अहिले पनि उत्तिकै छ । उपत्यका बाहिरका धेरै सम्पदा क्षेत्र भूकम्पका कारण प्रभावित छैनन् । नेपालका पुरातात्विक सम्पदा पूरै प्रभावित भएका छन् भन्ने भ्रामक समाचारले पर्यटकीय क्षेत्रलाई प्रभावित गराएका कारण यहाँको वास्तविक सन्देश दिनु अपरिहार्य देखिएकोले आगामी साउन ३२ गतेदेखि खुला गर्ने भएको हो ।