जेष्ठ २१,काठमाडौ-चार म्याग्निच्युडभन्दा साना र ठूला अनुकम्पनको संख्या कम हुँदै गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। वैशाख १२ गते गोरखा, बारपाक केन्द्रविन्दुको भूकम्पपछि हुम्लामा दुई र उदयपुरमा एक गरी चार म्याग्निच्युडमाथिका तीनवटा नयाँ भूकम्प गएका छन्।
केन्द्र प्रमुख लोकविजय अधिकारीका अनुसार बुधबार अघिल्ला दिनको तुलनामा धेरै अनुकम्पन गएका छन्। बुधबार साँझ ७ बजेसम्म चारवटा अनुकम्पन गए। आइतबार, सोमबार र मंगलबार भने एक–एक अनुकम्पन गएका थिए।
‘प्रत्येक दिनको तथ्यांक भन्दा पनि समग्रमा हेर्नुपर्छ, अहिले अनुकम्पन घटिरहेका छन्,’ उनले भने, ‘अनुकम्पन कम हुने र फेरि बढ्ने क्रम भइरहेको छ।’
अनुकम्पनको संख्या गत आइबारदेखि ह्वात्तै घटेको थियो। बुधबार साँझसम्म यो संख्या बढेर चार पुग्यो। अघिल्लो शनिबार ३, शुक्रबार ५, बिहीबार ७ र बुधबार ४ वटा अनुकम्पन गएका थिए।
अधिकारीका अनुसार चार म्याग्निच्युडभन्दा साना अनुकम्पन पनि पछिल्ला दिनमा घटेका छन्। ‘पहिला पहिला यस्ता अनुकम्पन दैनिक १२–१३ सयको हाराहारीमा जान्थ्यो। अहिले दुई सयको हाराहारीमा छ। अब स्थिति सामान्यतर्फ जाला,’ उनले भने।
वैशाख १२ गतेपछि २९५ वटा अनुकम्पन गएका छन्। नयाँ साना भूकम्प हुम्लामा २ पटक र उदयपुरमा १ पटक गए। हुम्लामा जेठ ८ गते ४ दशमलव ८ र जेठ १९ गते ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको थियो भने उदयपुरमा वैशाख २७ गते ४ म्याग्निच्युडको भूकम्प गएको थियो।