१४ असार, काठमाडौ । बजेटमा अन्त शुल्क बढाइने अनुमानले व्यापारीले चुरोटको कालोबजारी सुरु गरेका छन् । उत्पादक, वितरक, थोक विक्रेतादेखि खुद्रा व्यापारीले समेत लुकाएको पाइएको छ । कोही किन्न आउनेलाई उनीहरू महँगोमा बिक्री गर्ने गरेको व्यापारी नै स्विकार्छन् ।
‘बजेटपछि चुरोटको भाउ बर्सेनि बढ्ने गरेको छ । त्यसैले कम्पनीरडिलरले स्टक राख्ने गरेका छन् । खुद्रा व्यापारीलाई पनि दिएका छैनन्,’ खुद्रा व्यापार संघका अध्यक्ष पवित्रा बज्राचार्यले भने, ‘असर अहिले बजारमा देखिन थालिसकेको छ ।’

विगतका वर्ष हरेकपल्ट धूमपान तथा मदिराजन्य पदार्थमा अन्तस्शुल्क वृद्धि हुँदै आएको छ । यसपालि पनि वृद्धि हुने हल्ला छ । हल्लाले व्यापारीले बढी नाफा कमाउन कृत्रिम अभाव गराएका हुन् । ‘असार सुरुदेखि नै अभाव देखिएको छ,’ तिनकुनेस्थित खुस्बु किराना स्टोरका सञ्चालक जितु साहले भने, ‘अहिले त किन्नै पाइँदैन ।’ उनका अनुसार हरेक वर्ष एउटा बट्टामा ८ देखि १० रुपैयाँ बढदै आएको छ ।

कृत्रिम अभाव भएपछि केही खुद्रा पसलमा चुरोट पाइँदैन । यी सामान पाइहाले पनि बजार मूल्यभन्दा बढी तिर्नुपर्छ । केही व्यापारीले एउटा खिल्ली मात्रै दिने गरेका छन् । ‘हामीले थोकबाट एक बट्टा चुरोटमा १० रुपैयाँसम्म बढी तिरेर खरिद गर्ने गरेका छौं,’ साहले भने, ‘त्यसको मार उपभोक्तामा पर्ने भइहाल्यो नि ।’ उनका अनुसार १ सय ४० रुपैयाँ पर्ने बट्टा १ सय ५० रुपैयाँभन्दा बढीमा खरिद बिक्री हुने गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।