१४ असार, काठमाडौ । भूकम्पबाट क्षतिग्रस्त काठमाडौं उपत्यकाका विश्व सम्पदा क्षेत्रलाई युनेस्कोले खतरा सूचीमा राख्ने तयारी गरेको छ । जर्मनीको बोनमा आइतबार सुरु हुने युनेस्को विश्व सम्पदा समितिको ३९ औं सम्मेलनमा यसबारे प्रस्ताव पेस हुँदैछ ।

युनेस्कोले ठूलो क्षतिलाई ध्यानमा राख्दै विश्व सम्पदा परिचालन निर्देशिकाको दफा १७७, १७८ र १७९ अनुसार यस्तो प्रस्ताव बैठकमा पेस गर्न लागेको जनाएको छ ।

विश्व सम्पदा परिचालन निर्देशिकाअनुसार सांस्कृतिक पुरातात्विक सामान, संरचना तथा गरगहना, वास्तुकला, सहर वा गाउँ वा कुनै प्राकृतिक पर्यावरणमा क्षति भए, ऐतिहासिक प्रमाण नष्ट भए र सांस्कृतिक महत्वको नोक्सान भए खतराको सूचीमा राख्नुपर्ने अवस्था आउँछ ।

समितिले विश्व सम्पदा केन्द्र र सल्लाहकार निकायसँग् गहन परामर्श लिएर काठमाडौं उपत्यकालाई खतराको सूचीबाट हटाउन आपतकालीन योजनाको विकास र कार्यान्वयन गर्न नेपाललाई अनुरोध गरेको छ ।