काठमाडौं,असार १३। भूकम्पपछि घर ध्वस्त भएका र बसोबासका जमिन चिरा परी विस्थापित परिवारलाई खाना पकाउने ग्यास चुलोको अभाव भएको छ । रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार बर्खायाम सुरु भएका कारण दाउराको अभावले बिहानबेलुका खाना पकाउन समस्या भएको छ । दाउरा उपलब्ध भए पनि बासस्थानका लागि राखिएको त्रिपालभित्र आगो बाल्न नमिल्ने भएकाले ग्यास चुलो र सिलिन्डर उपलब्ध गराइदिन दातामाझ आग्रह गरिएको छ ।

हाकु, डाँडागाउँ, ठूलोगाउँ, स्याफ्रु, लाङटाङसमेतका मानिस विस्थापित भएका छन् । जिल्लाभित्र भएका ९९ प्रतिशत अर्थात् ११ हजार घर ध्वस्त छन् । सबै परिवारको बास बारीको पाटामा त्रिपालभित्रै छ ।- रासस