धनगढी असार १३ । लगातार तीन दिनसम्मको बर्षाका कारण सुदूरपश्चिममा दुई जनाको ज्यान गएको छ । अछाम र डोटीमा घर भत्किएर दुईजनाको ज्यान गएको हो । अछामको वीरपथ गाविस–का कमल खडकाका ९ वर्षीय छोरा लालबहादुर खडकाको शुक्रबार राति घर भत्किएर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारी अनुसार लगातारको वर्षाले घर भत्कन थालेपछि अरु सबै बाहिर निस्कन सफल भएपनि लालबहादुर भने च्यापिएका हुन् ।

यस्तै डोटीको बारपाटा–का ५२ वर्षिय परि बलायरको पनि घर भत्किएर ज्यान गएको छ ।

ढिलो गरी प्राप्त जानकारी अनुसार विहीबार रातिको अविरल वर्षाका कारण उनले बसेको घर भत्किएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार घरमा एक्लै रहेका उनको ज्यान गएको हो ।

जनजीवन सामान्य बन्देै
यस्तै शुक्रबार बेलुकीदेखि पानी पर्न छोडेपछि सुदूरपश्चिमको जनजीवन सामान्य बन्दै गएको छ । नदीहरुको जलस्तर घटेको छ, भने डुबानमा परेका बस्तीहरुको पनि जनजीवन पनि सामान्य बन्दै गएको छ ।

शुक्रबार बेलुकीसम्म साढे सात मिटर पानीको सतह रहेको कर्णालीमा शनिबार दिउँसोसम्म घटेर सात मिटरमा पुगेको छ । उता महाकालीमा पनि पानीको सतह सामान्य बन्दै गएको छ । हिजो अढाइ लाख क्युसेक बहाव रहेको महाकालीको पानी आज २ लाख भन्दा तल झरेको छ ।