१२ असार, महेन्द्रनगर। वर्षा हुने क्रम रोकिएसँगै महाकाली नदीको पानीको बहाव घटेपछि सीमा पुल शारदा व्यारेजको आवागमन आज बिहानदेखि खुला गरिएको छ ।

पानीको बहाव एक लाख क्युसेक मुनि पुगेपछि पुलको आवागमन खोलिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पुल खुला भएपछि पैदल यात्रु र सवारी साधन सञ्चालनमा आएका छन् ।

आज बिहान ६ बजेर ३० मिनेट जाँदा गरिएको मापनअनुसार महाकाली नदीको बहाव ९३ हजार क्युसेक पुगेको छ । नदीमा पानीको बहाव दुई लाख क्युसेक नाघेपछि शुक्रबार बिहानदेखि पुलको आवागमनमा रोक लगाएको थियो ।