काठमाडौं असार ११ । सरकारले आवासीय भवनमा सटर वा पसल राख्न नपाने ब्यवस्था गर्न लागेको छ। भवन निर्माण सम्बन्धी मापदण्ड संशोधन गरी सहरी विकास मन्त्रालयले यस्तो नियम ल्याउन लागेको खबर आजको कारोबारमा छापिएको छ। यो प्रस्ताव मन्त्रिपरिषदले पारित गरेपछि अब निर्माण हुने आवासीय भवनमा सटर तथा पसल राख्न पाइने छैन। सटर र पसलको स्वीकृति लिए त्यस्तो भवन स्वतः ब्यापारिक मानिनेछ।
त्यस्तै, ६ मिटरभन्दा कम चौडाइको सडक वरपर बन्ने भवनमा पनि सटर राख्न नपाइने भएको छ । सटर राख्दा कम्तिमा ३ मिटरको ‘सेट ब्याक’ छाड्नुपर्ने प्रस्तावमा रहेको छ।
सहरी विकासले ‘बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड २०७२’ मा सुझावका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय प्रस्ताव पठाएको छ। सरोकारवालासँग छलफलपछि स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश गरिनेछ।
मापदण्डमा तीन तलाभन्दा अग्ला सबै आवासीय र सर्वसाधारण भेला हुने सपिङ मल, सुपरमार्केट, स्कुल/कलेज, अस्पताल, नर्सिङ होम, पार्टी प्यालेस, सिनेमा हल लगायतका भवन निर्माण गर्दा अनिवार्य रुपमा माटो परीक्षण गर्नुपर्ने र योजनाअनुमति लिनुपर्ने ब्यवस्था गरिएको छ ।