काठमाडौं असार ११ । च्याउमा फ्याटरहित प्रोटिनलगायतका पोषण तत्व त छ नै, केही रैथाने प्रजातीमा ‘मेडिसिन भ्यालु’ समेत भेटिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
रैथाने च्याउमा अनुसन्धान गरिरहेका जापानी वैज्ञानिकले औषधी तत्व फेला पारेका हुन् ।
कृषि अनुसन्धान परिषद (नार्क) सँग सहकार्य गरिरहेको जापानको फुकुओकास्थित केसीयू विश्वविद्यालयका बैज्ञानिकले विभिन्न क्षेत्रका च्याउमाथि अनुसन्धान गरेका थिए । त्यसमध्ये फुलचौकी जंगलमा पाइने रैथाने जंगली च्याउमा औषधि भेटिएको नार्कका च्याउविज्ञ गोपालप्रसाद पराजुलीले जानकारी दिए । ‘हामीले चार ठाउबाट संकलन गरेको ९०/९२ प्रजातीका च्याउको नमुनाको विश्लेषण गर्न जापान पठाएका थियौं,’ पराजुलीले भने, ‘यी मध्ये फुलचोकी जंगलमा पाइने एउटा प्रजातीमा मेडिसिनल भ्यालू भेटिएको छ ।’
जापानमा गरिएको विश्लेषणले रैथाने च्याउमा रोगसँग लड्ने क्षमता, कपाल कालो राख्ने तत्व, अनुहारमा खुम्चेको छाला तन्काउने, पोतो, चाया हुन नदिने अण्डकोषको क्यान्सर कम गर्ने, मधुमेह घटाउनेलगायतका तत्व देखाएको हो । पराजुलीका अनुसार हालसम्म औषधीय मूल्य भएका च्याउबारे अनुसन्धान भएको थिएन ।