९ असार, काठमाडौ । सरकारले औषधिको खुद्रा मूल्य निर्धारण गर्ने तयारी गरेको छ । एउटै औषधिको मूल्य कम्पनीअनुसार फरक फरक पर्ने समस्या समाधान गर्न खुद्रा मूल्य तोक्न लागिएको हो ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा ९६ वटा औषधिको खुद्रा मूल्य निर्धारणको तयारी गरेको  छ ।क्यान्सर, ब्लडप्रेसर, मधुमेह, ग्याष्टिक, मानसिक समस्या, आकस्मिक गर्भनिरोधका लागि प्रयोग हुनेदेखि साधारण रुघाखोखीसम्मका औषधि छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रीको अध्यक्षतामा रहेको औषधि परामर्श परिषदको मंगलबार बसेको बैठकले तत्काल कार्यविधि निर्धारण गरी औषधिको मूल्य कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । कार्यविधि बनेपछि सरोकारवाला मन्त्रालयसँग छलफल गरी मूल्यको मस्यौदालाई अन्तिम रुप दिइने भएको छ ।

स्वास्थ्यमन्त्री खगराज अधिकारीले बिरामीका लागि खरिद गरिएका औषधिमा जनता नठगिउन् भनेर मूल्य निर्धारण गर्ने तयारी भएको बताए । चालु आर्थिक वर्षभित्रै मूल्य निर्धारण गर्ने योजना रहेको पनि जानकारी दिए ।