८ असार, काठमाडौं । सरकारले नागरिकलाई दिने भनिएका ७० प्रकारका औषधी सरकारले उपलब्ध गराउन सकेको छैन । जनताका लागि ७० प्रकारका औषधि निस्शुल्क दिने घोषणा अलपत्र परेको छ । घोषणा भएको एक वर्ष पुग्न लाग्दासम्म सरकारले औषधि खरिद गर्नसमेत सकेको छैन । औषधि ढिलाइकै कारण खरिदका लागि छुट्याइएको ४८ करोड रुपैयाँ फ्रिज हुने भएको  छ । निस्शुल्क औषधिका रूपमा भने भूकम्पपछि विभिन्न दातृ निकायले उपलब्ध गराएका औषधिबाटै काम चलाउने योजना स्वास्थ्य मन्त्रालयको छ ।
मन्त्रिपरिषदको गत बर्ष १३ भदौको बैठकले ७० प्रकारका औषधि निस्शुल्क गर्ने निर्णय गरेको थियो । तर, चालु आर्थिक वर्ष सकिन लाग्दा समेत औषधि खरीद नभएपछि विनियोजित बजेट फ्रिज हुने अवस्थामा पुगेको हो । अघिल्लो बर्षसम्म ४० प्रकारका औषधि निस्शुल्क वितरण गरेको सरकारले गतवर्ष सो औषधिको संख्या बढाएर ७० पुर्‍याएको थियो । तर, स्वास्थ्य सेवा विभागको औषधि खरीद गर्ने आपूर्ति व्यवस्था महाशाखा एक बर्षदेखी खरीद प्रकृयामा अल्झेको छ । ११ महिना वितिसकेकाले चालु वर्षमा औषधि खरीद हुने सम्भावना छैन ।
निस्शुल्क उपलव्ध गाउने अधिकांस औषधी नसर्ने रोगका लागि प्रयोग हुने हुन् । विभागका अधिकारीहरुले जिल्लामा पठाएको टुक्रे बजेटबाट औषधि खरीद भएको र नपुगेको ठाँउमा भूकम्पपछि आकस्मिक रुपमा खरीद गरिएका तथा दाताले दिएका औषधि प्रयोग गर्न सकिने बताएका छन् । विभागको प्राथमिक स्वास्थ्य तथा पुर्नर्जागरण महाशाखाका निर्देशक डा। रमेश खरेलले लामो खरीद प्रकृयाका कारण निस्शुल्क दिने औषधि खरीद हुन नसकेको बताए । केन्द्रबाट औषधि नपुगेपनि जिल्लाले आवश्यकता अनुसारको औषधि खरीद गरी काम चलाउने उनको दावी छ । सो महाशाखाले यसबर्ष ७५ जिल्लालाई औषधि खरीदका लागि भन्दै २६ करोड रुपैया निकासा गरेको छ । जिल्ला हेरी १५ देखी ६० लाखसम्म पठाइएको महाशाखाका अधिकृत कृष्णप्रसाद शर्माले बताए । –