८ असार, काठमाडौं ।नेपालमा सर्वाधिक लोकप्रिय मानिएको वाईवाई चाउचाउ भारतमा प्रतिबन्ध लगाइएको छ । बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित म्यागी चाउचाउमाथि प्रतिबन्ध लगाइएको केही दिनमै भारतमा वाईवाई चाउचाउमाथि प्रतिबन्ध लगाइएको हो । नेपाली ब्रान्ड (उत्पादन) मानिने वाईवाई चाउचाउमा म्यागी चाउचाउमा भन्दा पनि धेरै अखाद्य तत्व रहेको पुष्टि भारतको तामिलनाडुस्थित खाद्य प्रयोगशालाले गरेको अनुसन्धानबाट भएको थियो ।
तामिलनाडुको खाद्य प्रयोगशालाले गरेको अनुसन्धानअनुसार वाईवाई चाउचाउमा म्यागी चाउचाउमा भन्दा ७.४३ गुणा बढी लिड (शिशा) रहेको भेटिएको छ । लिडको मात्रा सबै चाउचाउमा हुने गर्दछ, तर २.५ पीपीएमभन्दा बढी लिड भएको चाउचाउ मानव स्वास्थ्यका लागि विषादीसरह मानिन्छ । म्यागी चाउचाउमा लिडको मात्रा ३.५ पीपीएम रहेको भेटिएको छ भने वाईवाई चाउचाउमा २५.४५ पीपीएम रहेको भेटिएको छ ।
लिडको मात्रा २.५ प्रतिशतभन्दा बढी भएको खाद्यवस्तु सेवन गर्दा शरीरमा अक्सिडेन्टको मात्रा बढ्न गई क्यान्सरले आक्रमण गर्ने, हड्डी कमजोर हुने, मुटुका भल्भहरू साँघुरिँदै जाने, मस्तिष्कमा रक्त प्रवाह गर्ने नलीहरू सुनिने, मुत्रासयमा मासु पलाउने, फिस्टुला र पायल्सको समस्या बढ्नेलगायतका रोगहरू देखा पर्दछन् । साथै, गर्भवती तथा प्रजनन् उमेरका महिलाहरूमा यस्तो लिडले सबैभन्दा ठूलो समस्या निम्त्याउने चिकित्सकहरूले जनाएका छन् ।
वरिष्ठ खाद्य प्रमोद कोइरालाका अनुसार चाउचाउमा पाइने लिडले सबैभन्दा छिटो असर पु¥याउने भनेको स्नायु प्रणालीलाई हो । हेर्दा आकर्षक र स्वादिलो बनाउन चाउचाउमा २० प्रकारका रसायनहरू प्रयोग गरिन्छ, ती सबै रसायनहरू अखाद्य हुन् । म्यागी चाउचाउमा समेत प्रयोग नगरिएको अखाद्य रसायन मोनोसोडियम ग्लुकोमेट वाईवाई चाउचाउमा समावेश गरिएको भेटिएको छ । मोनोसोडियम ग्लुकोमेट रसायनले टाउको दुख्ने, आँखा कमजोर हुने, श्रवण शक्ति नै गुम्ने, जिब्रोले स्वाद पाउन छाड्नेलगायतका समस्या उत्पन्न हुन्छ ।
यसैगरी, म्यागी र वाईवाईमा स्वाद बढाउनका लागि अजिनोमोटो नामक रसायन पनि अत्यधिक मात्रमा प्रयोग गरिएको पाइएको छ । नुन नमिसिँदासम्म अजिनोमेटो रसायन खासै हानिकारक मानिँदैन, तर यो रसायनमा नुन मिसिनासाथ तेजाब जस्तै अर्को रसायन बन्छ । जसले आन्द्रा र पेटमा प्वाल पार्छ । अपच हुने, कब्जियत बढ्ने, स्वास फेर्ने गाह्रो हुँदै जाँदा दमको रोग उत्पन्न हुनेलगायतका समस्या उत्पन्न हुन्छन् । खानेकुराका नाममा विषादी बिक्री वितरण भएर देशभरका अस्पताल भरिएपछि भारतले म्यागी र वाईवाई चाउचाउलाई प्रतिबन्ध मात्रै लगाइएको छैन, बजारमा खोजीखोजी नष्ट गर्न थालिएको छ । तर नेपालमा भने म्यागी चाउचाउलाई प्रतिबन्ध लगाइए पनि वाईवाई चाउचाउलाई प्रतिबन्ध लगाइएको छैन ।