नेपालगन्ज : बाँकेको खजुरास्थित कपास विकास समितिको गोदाममा संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले भण्डारण गरेर राखेको दालमा मिसावट भएको फेला परेको छ ।

विश्व खाद्य कार्यक्रमको गोदाममा भण्डारण गरिएको ५ सय ४१ मेट्रिक टन दालमा मिसावट भएको फेला परेको हो । संसदीय अनुगमन टोलीद्वारा (डब्लूएफपी) ले भण्डारण गरेको गोदामको आइतबार अनुगमन गर्दा अखाद्य दाल फेला परेको हो ।

भण्डारण गरेर राखिएको ५ सय ४१ मेट्रिक टन खेसरीको दाल कुहिएको अवस्थामा फेला परेको छ । तर, (डब्लूएफपी) ले उक्त दाल केराउको भएको दाबी गर्दै आएको छ । उक्त दाल टर्कीबाट खरिद गरेर भारतीय ठेकेदारमार्फत् नेपाल ल्याइएको डब्लुएफपीले जनाएको छ ।

मिसावट भएको दालमा किरा परेर खानै नमिल्ने अवस्थामा रहेको अनुगमनमा सहभागी सभासद् दलबहादुर सुनारले बताए । ‘एउटा जातको भनिएको दाल अर्को जातको फेला पर्‍यो,’ सभासद सुनारले भने ।

यसअघि गोरखामा पनि विश्व खाद्य कार्यक्रमको चामल कुहिएको फेला परेको थियो ।

संसदीय समितिले डब्लुएफपीले खजुरासँगै चौलिका र पिपरीको गोदामको आइतबारै अनुगमन गरेको छ । संसदीय टोलीको अनुगमनपछि डब्लुएफपीको कार्यालयले दाल खान योग्य नभएकाले जहाँबाट खरिद गरिएको हो, त्यतै फर्काउने प्रतिवद्धता जनाएको सभासद सञ्जय गौतमले जानकारी दिए ।

विश्व खाद्यले वितरण गरेको खाद्यन्न कुहिएको पाइएपछि संसदीय अनुगमन टोली अनुगमनको लागि खटिएको हो । केन्द्रबाट खटिएको संसदीय अनुगमन टोलीमा सुनार, गौतम र श्रीप्रसाद जबेगु (लिम्बू) छन् ।