काठमाडौ असार ४ ।प्रत्येक नेपालीको टाउकोमा भएको ऋण १८ हजार पाँच सय ६१ रुपैयाँमा झरेको छ । गत साउनसम्म २० हजार ६९ रुपैयाँ १६ पैसा प्रत्येक नेपालीलाई ऋण थियो । चैतसम्मको आठ महिना अवधिमा नेपालको वैदेशिक तथा आन्तरिक ऋण आठ प्रतिशतले घटेको हो ।

चालू आर्थिक वर्ष ०७१र७२ को साउन मसान्तसम्म नेपालको ऋण पाँच खर्ब ५३ अर्ब ५० करोड ७७ लाख रुपैयाँ थियो । चैतसम्ममा ४१ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ ऋण घटेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्म नेपालको वैदेशिक तथा आन्तरिक ऋण पाँच खर्ब ११ अर्ब ९२ करोड आठ लाख रुपैयाँ छ ।

सरकारले विकास कार्यक्रम सञ्चालक गर्न हरेक वर्ष आन्तरिक ऋण उठाउँछ । विभिन्न मुलुक तथा निकायबाट पनि ऋण लिन्छ । हरेक वर्ष साँवा र ब्याजको रकम पनि तिरिरहेको हुन्छ । विदेशीले दिएको ऋण ऊर्जा, सिँचाइ, भौतिक संरचना निर्माण, पर्यटन, कृषि, स्वास्थ्यलगायतका क्षेत्रमा खर्च हुने गरेको छ ।

महालेखाले सार्वजनिक गरेको चैतसम्मको तथ्यांकअनुसार वैदेशिक र आन्तरिक ऋण क्रमशस् ६ र १० प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा विदेशी मुद्राको विनिमय दरमा केही गिरावट आएकाले नेपाली रुपैयाँमा वैदेशिक ऋण घटेको हो । साउनमा वैदेशिक ऋण तीन खर्ब ४६ अर्ब ८१ करोड ९१ लाख रहेकोमा चैतसम्ममा घटेर तीन खर्ब २६ अर्ब तीन करोड २२ लाख रुपैयाँ पुगेको छ ।

सरकारले ट्रेजरी बिल, नागरिक बचतपत्र, विकास ऋणपत्र, राष्ट्रिय बचतपत्र, वैदेशिक रोजगार बचतपत्रमार्फत आन्तरिक ऋण उठाउने गर्छ । साउनसम्म आन्तरिक ऋण दुई खर्ब ६ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ थियो । चैतसम्मको आठ महिनाको अवधिमा ऋण १० प्रतिशतले घटेर एक खर्ब ८५ अर्ब ८८ करोड ८६ लाख रुपैयाँमा झरेको छ । सरकारले यस अवधिमा २० अर्ब ७८ करोड रुपैयाँ आन्तरिक ऋणको साँवा भुक्तानी गरेकाले गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।