अफगानिस्तान असार २ । उत्तरी अफगानिस्तानको कुन्दुज प्रान्तमा भएको सशस्त्र आतङ्ककारी आक्रमणमा सरकार समर्थक एक स्थानीय नेता र उनका दुई सहायकको मृत्यु भएको एक अधिकारीले बुधबार जानकारी दिएका छन् ।
अब्दुल बकी साफी नामका ती नेताका साथै अन्य दुईको प्रान्तीय राजधानी कुन्दुज सहरनजिकै खान अबाद जिल्लाको सडकमा मङ्गलबार अबेर राति सवारी साधनमा भएको आतङ्ककारी आक्रमणमा मृत्यु भएको वरिष्ठ जिल्ला अधिकारीले सिन्ह्वा समाचार समितिलाई बताए ।
यस घटनाको अनुसन्धान जारी रहेको र सो आक्रमणमा परी घाइते भएका अन्य दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
यसैगरी पूर्वी कुनार प्रान्तको मरावारा जिल्लामा रहेको एक सुरक्षा जाँच चौकीमा मङ्गलबार राति भएको अर्को एक आतङ्ककारी आक्रमणमा एक सर्वसाधाारण महिला र दई आतङ्ककारी मारिएका जनाइएको छ ।
यस आक्रमणमा परी एक बालक र अन्य तीन सुरक्षा अधिकारी घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता घानी कुसामामले जानकारी दिएका छन् ।