काठमाडौं, असार २ – संसदको सार्वजनिक लेखा समितिले त्रिपाल घोटाला प्रकरणका विषयमा सोधपुछ गर्नका लागि सहरी विकास मन्त्री तथा मन्त्रालयका सचिवलाई बैठकमा बोलाउने निर्णय गरेको छ । समितिको बुधबार विहान बसेको बैठकले असार ४ गतेको बैठकमा मन्त्री र सचिवलाई बोलाउने निर्णय गरेको हो ।

विनाशकारी भूकम्पपछि त्रिपाल खरिद र वितरणबारे अस्तव्यस्त रिपोर्ट पेश गरेको भन्दै लेखाले दुवै जनासँग सोधपुछ गर्न लागेको हो ।त्यस्तै सरकारले त्रिपाल लगायतका समाग्रीमा भन्सार छुट गरेको मौका छोपी कालिका कन्सट्रक्सनले भन्सार छुटमा ४ वटा डोजर भित्र्याएकोमा त्यसको पनि अनुसन्धान गरिने भएको छ । यसमा गृहमन्त्रालयले पनि नयाँ डोजर किनेको उजुरी लेखमा परेको छ ।यता, नयाँ बसपार्क क्षेत्रमा रहेको सिटी मार्केटमा पसल गरिरहेकाहरुलाई महानगरका कर्मचारीहरुले माइकिङ गर्दै जबर्जस्ती हटाउन खोजिएकोमा उक्त कार्य तत्काल स्थगन गर्न लेखाले निर्देशन दिएको छ ।भूकम्पले जनता आजित भएको बेलामा अध्ययन गरेर मात्र सो विषयमा निर्णय लिइने समितिले निर्देशन दिएको छ । कार्यालय सार्नुपर्ने भन्दै महानगरका कर्मचारीहरुले जबर्जस्ती मार्केट खाली गर्न लगाएको उजुरी समितिमा परेको थियो ।