काठमाडौं, असार २।पाँच सय करोडभन्दा बढी मूल्यको म्यागी चाउचाउ नष्ट गरिने नेस्ले कम्पनीले बताएको छ । म्यागीमा सीसा र एमएसजीका मात्रा बढी भेटिएपछि भारतका साथै नेपालमा पनि प्रतिवन्ध लागेको छ । भारतको चाउचाउ बजारमा म्यागीले ८० प्रतिशत हिस्सा छ । म्यागीमाथि लागेको प्रतिवन्धविरुद्ध नेस्ले इण्डिया मुम्बई हाई कोर्टमा गएको छ र यसबारे सुनुवाइ चलिरहेको छ । नष्ट गरिने चाउचाउमा फ्याक्ट्रीमा रहेको, थोक तथा खुद्रा विक्रेताहरुबाट फिर्ता लगिएका चाउचाउ हुने नेस्लेले जनाएको छ । भारतमा प्रतिवन्ध लागेपछि म्यागीले बजारमा भएका चाउचाउ फिर्ता लैजान सुरु गरेको छ । नेस्लेका अनुसार नष्ट गरिने चाउचाउको मूल्य झण्डै ३ सय २० करोड भारु अर्थात ५ सय १२ करोड नेपाली रुपैयाँ बराबरी हुन आउँछ ।