काठमाडौं, आषाढ २ ।  अधिकमास अर्थात् मलमास बुधबारबाट शुरु भएको छ । ज्योतिष शास्त्रअनुसार सूर्यमान र चन्द्रमानको गणनाका आधारमा निस्कने संक्रान्ति नभएको महिना बुधबारदेखि शुरु भएको हो ।

प्रत्येक तीन वर्षमा आउने अतिरिक्त एक महिनाको समयलाई हिन्दु धार्मिक ग्रन्थअनुसार अधिकमास वा मलमास भन्ने गरिन्छ ।सूर्यमान अनुसार १ बर्षमा ३ सय ६५ दिन हुने र चन्द्रमान अनुसार ३ सय ५४ दिन हुने गरेको छ ।

जसले गर्दा एक बर्षमा ११ दिन फरक पर्ने र ३२ महिना १६ दिनमा ३३ दिन वढी आउने हुनाले त्यस्तो अवस्थालाई अधिकमास भन्ने गरिन्छ ।प्रत्येक तीन वर्षमा अधिकमास आउने र ६० वर्षमा कम महिना भएको समय क्षयमास आउने ज्योतिष शास्त्रले जनाएको छ ।हिन्दु धार्मिक ग्रन्थ अनुसार यस्तो महिनामा नैमित्तिक, विवाह, व्रतबन्ध लगायतका शुभकार्य र काम्यकार्य पनि गर्न हुँदैन ।