काठमाडौं असार १ । एनएमबी बैंकले ‘मध्य र सुदूर पश्चिमका दूध सहकारी तथा कृषकका लागि सक्षमको दुग्ध वित्तीय सहयोग’ परियोजनामा लगानी गर्ने भएको छ।
सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमले उत्त परियोजना सञ्चालन गर्न लागेको हो। सोमबार राजधानीको होटेल अन्नपूर्णमा आयोजित कार्यक्रममा परियोजना कार्यान्वयन गर्न एनएमबी बैंकसँग साझेदारीको घोषणा गरिएको हो।
कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत, र दाङमा परियोजना सञ्चालन हुनेछ। परियोजनाको अवधि तीन वर्ष रहेको छ।
यो साझेदारीले मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका लघु, साना र मझौला उद्योग तथा कृषकले आवश्यक वित्तीय स्रोत पाउने र दुग्ध विकास संस्थानलाई दूध आपूर्ति गर्ने बताइएको छ। बैंकले तीन वर्षमा २५ करोड रुपैयाँ कर्जा प्रदान गर्नेछ।
‘परियोजनाले चुनिएका र नजिकैको जिल्लामा रहेका दुध सहकारीलाई कर्जा प्रदान गर्नेछ’, बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले भने, ‘यसको मूल्य शृंखलामा दुग्ध विकास संस्थान, कृषक, दुग्ध सहकारी र बैंक समावेश रहनेछन्।
यसरी कम्तीमा ५० सहकारीसँग सम्बद्ध हुने र लक्षित जिल्लाका कम्तीमा चार सय लघु, साना तथा मझौला उद्योगलाई कर्जा दिने हाम्रो योजना छ।’ परियोजना सञ्चालनपछि किसान सक्षम बन्नेछन्।
‘बैंकसँगको साझेदारीमार्फत दुग्ध विकास संस्थानसँगको सहकार्यमा हामी दूध सहकारी र कृषक समुदायलाई वित्तीय सेवा उपलब्ध गराउँछौं।
कृषकलाई अझ राम्रो सुसूचित निर्णय लिन सहयोग पुर्‍याउने एसएमएस सेवामा आधारित ज्ञान र अनुभव बाँड्ने मोडेल पनि प्रारम्भ गर्न लागेका छौं’, सक्षमका समूह प्रमुख बलजित बोहोराले भने, ‘एनएमबी बैंकसँगको साझेदारीले दूधको मूल्य शृंखलाका सबै सूत्रधारको वित्तीय क्षमता सुधार्नेछ र यस क्षेत्रका ग्रामीण गरिबको जीविकामा महत्त्वपूर्ण परिवर्तन ल्याउनेछ भन्नेमा हामी विश्वस्त छौं।’
साझेदारी घोषणा कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव सूर्यप्रसाद आचार्य, राष्ट्रबैंकका कार्यकारी निर्देशक डा. विनोद आत्रेय, डीएफआईडी नेपालका निजी क्षेत्र सल्लाहकार प्रसन्न केसीलगायतको सहभागिता थियो।
सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय सम्झौताको एउटा अंशका रूपमा यूके एडबाट आर्थिक सहायता प्राप्त कार्यक्रम हो।