१ असार,काठमाडौं।लाइसेन्सको ट्रायल लिने ठाउँ नहुँदा वैशाख १२ गतेको भूकम्पपछि रोकिएको लाइसेन्स वितरण अझै सुरु हुन सकेको छैन । बागमती अञ्चल यातायात ब्यवस्था कार्यालय अहिले नयाँ ट्रायल सेन्टरकै खोजीमा छ ।

भूकम्पअघि ट्रायल लिने गरिएको नेसनल ट्रेडिङ लिमिटेडको भद्रकालीस्थित ग्राउण्डमा भूकम्प पीडितको राहत सामग्री राखिएपछि गाडीको लाइसेन्स ट्रायलका लागि नयाँ ठाउँ खोज्नुपरेको हो । ट्रायल सेन्टर भाडामा लिन टेण्डर आह्वान भएको र सेन्टर छनोटको निर्णय गर्न बाँकी रहेको यातायात ब्यवस्था बिभागका निर्देशक तथा प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए।

ट्रायल लिने ठाउँ नहुँदा सबैखाले चारपाङ्ग्रे गाडीको लाइसेन्स वितरण रोकिएको छ । बागमती अञ्चल यातायात कार्यालयले गएको जेठ १३ गते ट्रायल सेन्टरका लागि टेण्डर आह्वान गरेको थियो । काठमाडौं बाहिर झापा, जनकपुर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा रहेका यातायात कार्यालयबाट भने चारपाङ्ग्रे सवारी साधनको लाइसेन्स वितरण भएको छ ।