काठमाडौं, जेठ ३२।धर्मशाला रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो। नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ५२ रन बनाए। ४७ बलको सामना गरेका उनले २ चौका र १ छक्का हानेका थिए। यस्तै सोमपाल कामीले २४ रन बनाएका थिए। अन्यले टिकेर खेल्न सकेनन्। ओपनर सुवास खकुरेल पाँच रनमा आउट भए भने सागर पुन ४ रनमा पभेलियन फर्किएका थिए। शक्ति ९ रनमा अविजित रहे। कप्तान पारस खड्का र विनोद भण्डारी समान १-१ रनमै आउट भए। यस्तै शरद भेसवाकर ११, प्रदिप ऐरी शून्यमा आउट भएका थिए।

हिमाञ्चल प्रदेशका गुरुविन्दर सिंहले २ विकेट लिए भने राघव धवन र आकाश शर्माले समान १-१ विकेट लिएका छन् ।

जवाफमा मैदान उत्रिएको हिमाञ्चल प्रदेश १४.३ ओभरमा ६१ रनमा समेटियो। हिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा नेपाली बलरहरू चम्किएका थिए। सुमित बर्माले १८ रन बनाउनु बाहेक हिमान्चलका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

४ ओभर बलिङ गरेका नेपालका सोमपाल कामीले १८ रन खर्चिएर ३ विकेट लिए। यस्तै जितेन्द्र मुखिया र शक्ति गौचनले २-२ विकेट हात पारे। करण केसीले एक विकेट लिए।