काठमाडौं, जेठ ३२ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षका लागि असार ६ गतेबाट २५ करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले चार बर्षदेखि वैदेशिक रोजगारमा गएकाहरुलाई लक्षित गर्दै बचत पत्र जारी गर्दै आएको छ ।
 नौं प्रतिशत ब्याज दरको बचत पत्रको अवधि पाँच बर्षको हुने छ । बचतपत्रमा दिइएको ब्याज दर बजारमा प्रचलितभन्दा धेरै हो ।
 २०७७ सालमा परिपक्क हुने बचत पत्रको ब्याज भने प्रत्येक ६ महिनामा भुक्तानी हुने छ । बचतपत्र घटिमा पाँच हजार रुपैयाँ बराबरको खरीद गर्नु पर्ने हुन्छ । लगानीकर्ताले अधिकतम पाँच हजारले भाग जाने रकमसम्मको लागि आवेदन दिन सकिने केन्द्रिय बैंकले जानकारी दिएको छ ।
बचतपत्र देश वाहिर रोजगारीमा गएका वा रोजगारीबाट फर्किएको चार महिना नपुगेका नेपाली नागरिक, गैरआवासीय नेपालीले खरीद गर्न पाउने छन् । उनीहरुले परिवारका सदस्यहरु बुवा, आमा, श्रीमान, श्रीमती, छोरा र छोरीका नाममा खरीद गर्न पाउँछन् ।
अघिल्लो बर्षबाट रोजगारीको क्रममा बाहिर रहेका नेपाली तथा गैरआवासीय नेपालीका परिवारले नेपालबाट पनि बचत पत्र खरीद गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।त्यस्तै, भारतसहित बिदेशबाट फर्केको चार महिना अवधि नपुगेकाहरुले पनि बचत पत्रमा लगानी गर्न पाउँने व्यवस्था छ । लगानी गर्नेले चाहेको समयमा इजाजत प्राप्त बजार निर्माताबाट बचतपत्र विक्री गर्न सक्छन् । यो बचतपत्र धितो राखेर बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा पनि लिन पाइन्छ ।
राष्ट्र बैङ्कले आईएमई, प्रभु मनी ट्रान्सफर, प्रभु बैंक, सिटी एक्सप्रेस मनी ट्रान्सफर, सेञ्चुरी कमर्सियल बैंक र सनराइज बैंकसहित ६ एजेण्ट संस्थामार्फत् बचतपत्र खरीद गर्न सक्नेछन् ।यी एजेण्टहरु मार्फत् ओमान, कतार, इजरायल, संयुक्त अरब इमिरेट, कुवेत, साउदी अरेबिया, बहराइन, मलेसिया, अष्ट्रेलिया, अमेरिका, बेलायत, जापान र रसियाबाट बचत पत्र बिक्रीको व्यवस्था मिलाइएको छ ।