काठमाडौं, जेठ ३२ ।अशोक राई अध्यक्ष रहेको संघीय समाजवादी पार्टी र उपेन्द्र यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम नेपालबीच एकीकरण आज हुँदैछ । एकीकरणपछि नयाँ पार्टीको नाम ‘संघीय समाजवादी फोरम’ हुनेछ जसमा अध्यक्ष यादव तथा अशोक राई वरिष्ठ तथा राई संसदीय दलको नेता बन्ने सहमति भएको छ ।

राजधानीको खुसिबुस्थित पार्टी प्यालेसमा एक कार्यक्रमबीच दुई पार्टीबीच आज एकीकरण हुने भएको हो ।

upendra-ashok

दुई दलबीच एकीकरण हुने सैद्धान्तिक सहमति भए पश्चात दुई दलको बीचमा पटकपटक बैठक बसी सांगठनिक विषयमा पनि टुगों लगाइएको थियो। संघीय समाजवादको आधारमा एकीकृत पार्टी सञ्चाल हुने संघीय समाजवादी पार्टीका उपाध्यक्ष रिजवान अन्सारीले बताए । दुईवटै पार्टीको विधान मिल्दो जुल्दो भएको भन्दै त्यसलाई खासै हेरफेर गर्न नपरेको नेता अन्सारीले बताए ।

संघीय समाजवादी पार्टीको झण्डा र फोरम नेपालपार्टीको चुनावचिन्ह हातमा लिएको मसाल एकीकृत पार्टीका लागि तय भएको छ । उपाध्यक्ष तीनजना देखि पाँचजनासम्मको राखिने छ भने महासचिव दुई जना रहने नेता रिजवानले बताए ।

पार्टी एकीकरणपछि एकीकृत पार्टी १५ सभासद्सहित संविधानसभाको पाँचौं ठूलो शक्ति बन्नेछ । यसअघि विजय गच्छदारको फोरम लोकतान्त्रिक पाँचौं शक्तिको रुपमा रहेको थियो ।